समाचारका विषयमा अखबारहवकर्मी न्यौपानेलाई धम्की
मकवानपुर । जिल्ला मालपोत कार्यालय मकवानपुरको समाचारको विषयलाई लिएर एक व्यक्तिले अखबारहवकर्मी पत्रकार राममणि न्यौपानेलाई धम्की दिएका छन् ।
आज (सोमबार) बिहान करिब ९ बजेको समयमा आफुलाई राजकुमार अर्याल नाम बताउने ब्यक्तिले अखबारहव डटकम र अखबारहव डटकमको आधिकारिक युट्युब च्यालनमा मिति २०७८ पुष ७ गते ‘मालपोत कार्यालय हेटौंडामा अखबारहवको स्टिङ अप्रेशन: तिस हजार घुस रकमसहित रंगेहात समातिय नायब सुब्बा(भिडियोसहित)’ शीर्षकको समाचार सामाग्रीलाई लिएर फोन कल मार्फत पत्रकार न्यौपानेलाई धम्काएका हुन् ।
‘आफु पत्रकारसमेत रहेको, मालपोत कार्यालय मकवानपुरका प्रमुख आफ्नो हातमा रहेको , मकवानपुरका प्रमुृख जिल्ला अधिकारी आफ्नै हातमा भएको, न्यायाधिश र प्रेस चौतारी नेपालको सदस्य आफ्नै चिनजानको रहेकोले समाचार सामाग्री हटाउ, नहटाए अनलाइन पत्रिका बन्द गराइदिन्छु’ भन्दै धम्की पूर्ण अभिव्यक्ति दिएका छन् ।
यस्तो किसिमको अभिव्यक्ति र धम्कीले आम नागरिकलाई सु–सूचित तथा सूचना पाउने अधिकारलार्ई कुण्ठित बनाएको र सिंगो पत्रकारिता पेशाकर्मीलाई समाचार संकलन तथा प्रशारण/प्रकाशनमा समेत आघात पुग्ने भन्दै कारबाहीको माग गर्दै न्यौपानेले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा उजुरी दिएका छन् ।







