कैलाशमा उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता
मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकाको आयोजनामा चौथो उपाध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता शुक्रबारदेखि सुरु भएको छ ।
कैलाश गाउँपालिका–३ स्थित भवानी माध्यमिक विद्यालयको खेल मैदानमा कैलाश खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको हो ।
गाउँपालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरीको विशेष आतिथ्यता रहेको कार्यक्रममा वडा ७ का वडाध्यक्ष उदासकुमार भोेलन, वडा ९ का वडाध्यक्ष भुवनसिं घलान, वडा १० का अध्यक्ष सुर्यबहादुर ब्लोन, प्रमुख रेफ्री विनोद श्रेष्ठ, भवानी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालचन्द्र मल्ललगायतको आतिथ्यता रहेको थियो ।
प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता वडा ५ ले वडा ९ लाई सोझो सेटमा हराउँदै विजयी सुरुवात गरेको छ । वडा ५ ले ९ लाई २५-२१ २५-१८ मा पराजित गरेको हो । त्यस्तै प्रतियोगिताअन्तर्गत वडा ७ र ८ बीच भएको खेलमा ८ ले ७ लाई २६-२४,२०-२५, १५-११ अंकले पराजित गरेको थियो । त्यस्तै, ८ र १० बीच भएको खेलमा ८ ले १० लाई १९-२५, २५-२२, १६-१४ अंक ल्याई पराजित गरेको थियो ।
खेलकुद विकास समितिका अध्यक्ष मोहन वाईवाका अनुसार प्रतियोगितामा गाउँपालिकाका ९ वटा वडाको सहभागिता रहेको छ । प्रतियोगिताको विजेता टोलीले नगद रु ७५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद रु. ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रतियोगिता पहिलो चरणमा लिग प्रणाली र दोस्रो चरणदेखि नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजकले जनाएको छ । गाउँपालिकामा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र प्रतिस्पर्धात्मक भावना अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।










