दुर्गाप्रसादलाई ५ लाख भारु क्षतिपूर्ति दिन कोलकाता उच्च अदालतको आदेश

अखबार हब
२०७८ मंसिर २३, बिहीबार ०९:५०

भारतको जेलमा अनाहक ४० वर्ष थुनिएर रिहा भएका इलामका दुर्गाप्रसाद तिम्सिना (दीपक जैसी) लाई भारु पाँच लाख रुपैयाँ क्षतिपूर्ति दिन कोलकाताको उच्च अदालतले आदेश दिएको छ । विनाकसुर ४० वर्ष थुनिएर गत चैतमा रिहा भएका तिम्सिनालाई कोलकाताको उच्च अदालतले ५ लाख भारु दिन पश्चिम बंगाल सरकारलाई आदेश दिएको हो ।

मुख्य न्यायाधीश प्रकाश श्रीवास्तव र न्यायाधीश राजर्षि भारद्वाजको संयुक्त इजलासले तिम्सिनाको खातामा तत्काल भारु पाँच लाख अर्थात् नेपाली ८ लाख रुपैयाँ दिन आदेश दिएको हो ।

उच्च अदालतले ७ डिसेम्बर (मंसिर २१ गते) भारतस्थित नेपाली महावाणिज्य दूतावासमार्फत दुर्गाप्रसादको बैंक खातामा पाँच लाख भारु पठाउन आदेश दिएको दुर्गाप्रसादको मुद्दामा बहस पैरवी गरेका कोलकाताका वकिल हिरक सिन्हाले बताए ।

इलामको माई नगरपालिका–१० बाट दुर्गाप्रसाद १९ वर्षको हुँदा तोरी बेच्न भन्दै मंगलबारे गएका थिए । त्यसपछि काम खोज्दै दार्जिलिङमा पुगेका उनी एक युवतीको हत्या आरोपमा पक्राउ परेका थिए ।

आरोप प्रमाणित नभएपछि ४ चैत २०७७ मा उनलाई कोलकाता उच्च अदालतले रिहा गर्न आदेश दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*