हेटौँडामा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्य
हेटौंडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–९ पशुपतिनगरस्थित महेन्द्र राजमार्गमा आज दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छ ।
नारायणगढबाट वीरगञ्जतर्फ जाँदै गरेको लु १ ख ८११६ नम्बरको खाली ट्रकले सोही दिशा (हेटौँडा बजारबाट रातोमाटेतर्फ) जाँदै गरेको WB 14 W 8525 नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिएको हो ।
ट्रकको ठक्करबाट मोटरसाइकल चालक भारतको पूर्वी बंगाल बस्ने वर्ष २७ का सुमन मण्डल गम्भीर घाइते भएका थिए । दुर्घटना लगत्तै घटनास्थलमा खटिएको प्रहरी टोलीले उनलाई उद्धार गरी तत्काल उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।
उपचारकै क्रममा दिउँसो ३:१५ बजे चिकित्सकले मण्डललाई मृत घोषित गरेका हुन् । मृतकको शव हाल हेटौँडा अस्पतालमै राखिएको छ ।
प्रहरीका अनुसार दुर्घटनामा संलग्न ट्रक, मोटरसाइकल र ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ । नियन्त्रणमा लिइएका चालक दाङको दङ्गालचुली गाउँपालिका–६ बस्ने ३९ वर्षीय पूर्ण बहादुर बस्नेत रहेका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।










