मकवानपुरमा एसईई परीक्षा सुरु, ७ हजार ४५६ विद्यार्थी सहभागी

हेटौंडा । देशभर आजदेखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत मकवानपुरमा ७ हजार ४५६ विद्यार्थी सहभागी हुँदैछन्।
शिक्षा समन्वय इकाइ मकवानपुरका प्रमुख सुविद गिरीका अनुसार यस वर्ष जिल्लामा २८ परीक्षा केन्द्र तोकिएका छन्।
गत वर्ष २६ परीक्षा केन्द्र रहेका मकवानपुरमा यस पटक कैलाश गाउँपालिकाको नामटारस्थित कालिका मावि र हेटौंडाको श्रमिक मावि गरी दुई परीक्षा केन्द्र थप गरिएको छ। कैलाश गाउँपालिकामा केन्द्र थप भएसँगै जिल्लाका सबै स्थानीय तहमा परीक्षा केन्द्र रहेको गिरीले जानकारी दिए। हेटौंडाको श्रमिक माविमा भने प्राविधिक धारतर्फका विद्यार्थीका लागि मात्रै परीक्षा सञ्चालन हुनेछ।
परीक्षा सुव्यवस्थित बनाउन २८ जना केन्द्राध्यक्ष, ५१ जना सहायक केन्द्राध्यक्ष, ३७४ निरीक्षक, ७६ परीक्षा सहायक, १५० कार्यालय सहयोगी तथा ४२० सुरक्षाकर्मी खटाइएको छ । साथै, सबै केन्द्राध्यक्षलाई आवश्यक प्रशिक्षण दिइसकिएको शिक्षा समन्वय इकाइ मकवानपुरले जनाएको छ।
भीमफेदी कारागारबाट ६ जना विद्यार्थी सहभागी
यस वर्ष मकवानपुरको क्षेत्रीय कारागार भीमफेदीबाट पनि ६ जना कैदीबन्दीले एसईई परीक्षा दिने भएका छन्। भीमफेदी कारागारमा सवारी ज्यान, जबरजस्ती करणी, डाँका, चोरी र लागूऔषध मुद्दामा सजाय काटिरहेका ३ जना बन्दी र ३ जना कैदी परीक्षामा सहभागी हुने जेलर तिर्थराज पौडेलले जानकारी दिए।
परीक्षा व्यवस्थापनका लागि हेटौंडा उपमहानगरपालिका–२ स्थित सिद्धार्थ माविबाट एसईई फाराम भरेका कैदीबन्दीहरुले कारागारभित्रै परीक्षा दिने व्यवस्था मिलाइएको छ। प्रश्नपत्र र उत्तरपुस्तिका लिन विद्यालयका शिक्षक कारागार पुग्ने र उनीहरुले नै परीक्षा लिने व्यवस्था गरिएको पौडेलले बताए।
जिल्लाभर परीक्षालाई मर्यादित बनाउन सुरक्षाकर्मी परिचालन गरिएको र कुनै अवाञ्छित गतिविधि हुन नदिने शिक्षा समन्वय इकाइ मकवानपुरले जनाएको छ।