मकवानपुरगढीमा आगलागी, घर पूर्ण रूपमा जलेर नष्ट

अखबार हब
२०८१ चैत्र ४, मंगलवार १५:१८

हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका-०२, बासपानीमा भएको आगलागीले एक घर पूर्ण रूपमा नष्ट भएको छ।

सोमबार बिहान करिब ९:३० बजे कृष्ण बहादुर दर्लामी मगरको दुई तले कच्ची घरमा खोले पकाउने क्रममा अचानक आगलागी भएको थियो। आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मकवानपुरगढीबाट प्रहरी निरीक्षक बिरेन्द्र रायमाझीको नेतृत्वमा टोली खटिएको थियो । प्रहरी र स्थानीयवासीको प्रयासमा करिब १०:४५ बजे आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीका कारण घर पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्र रहेको १५ मुरी धान, १ बोरा चामल, ४ बोरा आलु, सुनको तिलहरी, झुम्का, हातको बाला, बच्चाको कल्ली बाला गरी करिब ५ तोला सुन, लत्ताकपडा तथा भाँडाकुँडा जलेर नष्ट भएका छन्। घरधनीका अनुसार आगलागीबाट करिब १० लाख २५ हजार रुपैयाँ बराबरको क्षति भएको छ।

आगलागी बाट मानविय तथा चौपायाको क्षति नभएको प्रहरीले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published.


*