हेटौंडा सिमेन्ट उद्योगको‘रोप–वे’ सवा ४ करोडमा बिक्री

हेटौंडा । सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योगको रोप–वे अन्ततः बिक्री भएको छ ।
उद्योगले लामो समयदेखि बन्द अवस्थामा रहेको रोप–वे बिक्री गरेको हो । उद्योग सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत जुटाउन भन्दै उद्योग प्रशासनले लामो समयदेखि रोप–वे बिक्रीको प्रयास गर्दै आएको थियो ।
हेटौँडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको उद्योगले विगतमा सिमेन्ट बनाउन आवश्यक चुनढुंगा ढुवानीका लागि प्रयोगमा ल्याएको रोप–बे बिक्री गरेको हो । उद्योग प्रशासनले बाराको लिपनीमालस्थित श्री पिएस एन्ड सन्स इन्टरप्राइजेजलाई भ्याटसहित चार करोड २५ लाख ६ हजार ८० रुपैयाँमा रोप–वे बिक्री गरेको जनाएको छ । रोप–वे बिक्री गर्ने विषयमा गत पुस ७ गते सम्झौता भएको उद्योगका सूचना अधिकारी हरेराम आचार्यले जानकारी दिए ।
उनका अनुसार तीन किस्तामा सम्पूर्ण भुक्तानी भइसक्नुपर्ने सहमतिअनुसार उद्योगले पहिलो किस्ताबापतको एक करोड ४२ लाख ६८ हजार ६ सय ९४ रुपैयाँसमेत प्राप्त गरिसकेको छ । रोप–वे खरिदकर्ता कम्पनीले सम्झौताको नौ महिनाभित्र रोप–वेको सम्पूर्ण संरचना उठाइसक्नुपर्ने सहमति भएको उनको भनाइ छ । रोप–वे बिक्रीबाट प्राप्त भएको रकम उद्योग सञ्चालनका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदमा खर्च गर्ने सञ्चालक समितिले निर्णय गरेको पनि सूचना अधिकारी आचार्यले जानकारी दिए । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले लामो समयदेखि बन्द भएर प्रयोगमा नआएकाले रोप–वे बिक्री गरेको बताए । उनले रोप–वे बिक्रीबाट आएको पैसाले उद्योगमा देखिएको आर्थिक समस्यामा थोरै भए पनि सहयोग पुग्ने दाबी गरे ।
‘रोप–वे लामो समयदेखि बन्द अवस्थामा छ । लामो समयसम्म प्रयोगमा नल्याइएकाले रोप–वेको कुनै पनि संरचना काम लाग्ने अवस्थामा पनि छैन । त्यसकारण बिक्री गरका हौँ,’ उनले भने, ‘रोप–वे बिक्रीबाट आएको पैसाले थोरै भए पनि उद्योगको आर्थिक अभावलाई सहज बनाउँछ ।’
उद्योगले भीमफेदी गाउँपालिकाको भैँसेखानीदेखि उद्योगसम्म ११ किलोमिटर रोप–वेको सिस्टमसँग जोडिएका रोप–वेका टावर, तार र बकेटलगायतका फलामजन्य सामान बिक्री गरिएको उनको भनाइ छ । लामो समयदेखि बन्द रहेको रोप–वे पुनः प्रयोगमा ल्याउन सक्ने अवस्था नभएपछि बिक्री गरिएको उनले दाबी गरे ।
०६१ सालयता बन्द अवस्थामा रहेको रोप–वेको टावर, तार र बकेट गरी करिब १५ सय टन फलाम रहेको अनुमान गरिएको छ । लामो समयदेखि एकै स्थानमा झुन्डिएका रोप–वेका बकेटहरू कुनै पनि वेला खस्न सक्ने अवस्थामा छन् । महाप्रबन्धक पाण्डेले रोप–वेको टावर रहेको र डब्बा झुन्डिएका स्थानका बासिन्दाले समेत दुर्घटना हुन सक्ने भन्दै बारम्बार रोप–वे हटाउन उद्योगमा लिखित र मौखिक आग्रह गरिरहेको जानकारी दिए । नयाँ पत्रिकाबाट साभार