सिडिओ मार्फत सरकारलाई मकवानपुरका निमार्ण व्यवसायीको पत्र
हेटौंडा । निर्माण व्यवसायी संघ मकवानपुरले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा ज्ञापनपत्र बुझाएको छ ।
आईतबार निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलको नेतृत्वमा गएको टोलिले जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तिर्थराज चिलुवालसमक्ष विभिन्न मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
महासंघको पूर्वघोषित आन्दोलनका कार्यक्रमका अनुसार प्रदेशमा मुख्यमन्त्री र जिल्ला प्रशासन कार्यालयमार्फत केन्द्रीय सरकारलाई ज्ञानपपत्र बुझाईएको निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कँडेलले जानकारी दिए ।
१४ बुँदे मागसहितको ज्ञापनपत्रमा सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरी सम्पूर्ण आयोजनाहरूको एकमुष्ट रूपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, रुग्ण रहेका ठेक्काहरु सुविस्ताका आधारमा अन्त्य गरिनुपर्ने, अत्यधिक र अप्रत्याशित रूपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरी मूल्य समायोजन हुनुपर्ने, संविधानसँग बाझिएको कानुनी ऐनको व्यवस्थामा संशोधन गरिनुपर्ने मागहरु व्यवसायीहरुले समेटेका छन् ।
त्यस्तै भौगोलिक हिसाबले निमार्ण कार्यको तालिका निर्धारण गरिनुपर्ने, वर्षात्को समयमा निर्माण सामाग्री उत्खननको व्यवस्था गरिनुपर्ने, मापदण्ड र निर्दीष्टिकरणमा आवश्यक परिमार्जन गरिनुपर्ने , इन्स्युरेन्सको समस्या समाधान गरिनुपर्ने, सरकारसँग विगतमा भएका सहमति कार्यानवयन हुनुपर्ने, र निर्माण सन्बन्धी उच्च स्तरीय आयोग गठन गरिनुपर्ने लगायतका माग गरिएको कँडेलले बताए ।
माघ ३ गतेदेखि ७ गतेसम्म विभिन्न राजनीतिक दलका प्रमुख र सम्बन्धित संघीय सरकारी निकाय, प्रदेश र राजनीतिक निकायमा आफना मागहरूको सम्बन्धमा जानकारी गराउने, माघ १८ गते राजधानीको माईतीघर मण्डलामा धर्ना दिने, माघ २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने, माघ २१ देखि राजधानी प्रवेश गर्ने पूर्व र पश्चिम नाकाहरु ठप्प पार्ने र सो पश्चात् पनि माग पूरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पारी आन्दोलनलाई थप शसक्त पार्ने कार्यक्रम रहेको ज्ञापनपत्र घोषणा गरिएको छ ।







