स्थानीय तहको चुनाव सकिएको २८ महिना पछि समीक्षा गर्दै कांग्रेस

अखबार हब
२०८१ भाद्र २६, बुधबार २१:५०

हेटौंडा । नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन सम्पन्न भएको २८ महिनापश्चात् जिल्ला जिल्लामा पुगेर समीक्षा गर्ने भएको छ ।

कांग्रेसले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठनमा गरेको ढिलाई कारण २०७९ वैशाखमा सम्पन्न निर्वाचन समीक्षा यही भदौ अन्तिमबाट सुरु गर्न लागेको हो । विभागले आफ्नो पहिलो कार्यक्रम बागमती प्रदेशको राजधानी हेटौंडाबाट सुरु गर्ने भएको छ ।

कांग्रेस मकवानपुरले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै कार्यक्रमको तयारी सुरु भएको जानकारी दिएको छ । ‘पार्टीले स्थानीय तह केन्द्रीय समन्वय विभाग गठन गरेपछि पहिलो फटक हेटौंडामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा स्थानीय तहमा वडा, पालिका, नगर र उपमहानगरमा उम्मेदवार भएका सम्पूर्णलाई उपस्थितिका लागि भनेका छौं’,कांग्रेस मकवानपुर सभापति बुद्ध लामाले भने । उनका अनुसार भेलामा स्थानीय तह निर्वाचनको विषयमा समीक्षा र अबको मार्गनिर्देशनबारे छलफल हुने छ । ‘अब विभागले देशैभर स्थानीय तहका उम्मेदवारसँग अन्तक्रिया गर्नेछ,’ उनले भने ।

यही भदौ ३० गते हुने भेलालाई केन्द्रीय महामन्त्री विश्वप्रकाश शर्माले सम्बोधन गर्ने कार्यतालिका रहेको छ । यस विभागको प्रमुखमा कांग्रेस केन्द्रीय सदस्य मधु आचार्य रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*