प्रतिपक्ष दलको अवरोध पछि बागमतीको संसद् बैठक स्थगित

अखबार हब
२०८१ असार ७, बिहीबार २०:५९

हेटौंडा । प्रतिपक्ष दलको अवरोध पछि बागमती प्रदेशको संसद् बैठक स्थगित गरिएको छ । बिहीबार बसेको बैठकमा प्रतिपक्ष दलहरूले बजेटमा असन्तुष्टि जनाउँदै संसद् बैठक अवरुद्ध गरेका हुन् ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरूले विरोध जनाउँदै संसद् अवरुद्ध पारेका थिए । सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल प्रारम्भ भएको र बजेटमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्न अर्थ मन्त्री जगन्नाथ थपलियालाई समय दिएलगत्तै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गरेका हुन् ।

उनीहरुले बजेटमा अर्थ मन्त्री हाबी भएको भन्दै बजेट पुनः लेखन माग गरेका छन् । आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि असन्तुष्टि व्यक्त गर्दै उनीहरुले बजेट पुनः लेखनको माग राखेका हुन् ।

बैठकमा विशेष समय माग गरेर बोल्दै कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले बजेट पुनः लेखन नभएसम्म प्रदेश सभामा बजेटमाथिको छलफल अगाडि नबढ्ने चेतावनी समेत दिए ।

उनले बोले लगत्तै कांग्रेस र राप्रपाका सांसदहरूले बेन्चबाट उठेर सदनमा विरोध जनाएका थिए । सभामुख पाठकले सदन सञ्चालन गर्न पटकपटक रुलिङ गरेपनि कांग्रेस र राप्रपाका सांसदहरूले सदनमा नाराबाजी गरेका थिए । प्रतिपक्ष दलका सांसदहरूको विरोध नरोकिएपछि अन्ततः दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको बैठक सूचना टाँस गरी शुक्रबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*