बागमती सरकारमा सहभागी भएसँगै हानेपामा विवाद चर्कियो

अखबार हब
२०८० चैत्र १६, शुक्रबार १२:०१

हेटौंडा । बागमती प्रदेशमा सरकारमा सहभागी भएसँगै हाम्रो नेपाली पार्टीमा विवाद चर्किएको छ । हानेपा संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यले बागमती प्रदेश सरकारलाई समर्थन गर्ने प्रतिबद्धतासहित संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेसँगै पार्टीभित्र विवाद उत्पन्न भएको हो ।

हानेपाले बागमती प्रदेश सरकारमा मुख्यमन्त्री पाए मात्र सहभागी हुने अन्यथा प्रतिपक्षमै बस्ने निर्णय गरेको थियो । तर, हानेपाका नेता बज्राचार्यले पार्टीको निर्णयविरुद्ध सरकारमा सहभागी भएर मन्त्री बनेसँगै विवाद सतहमा आएको हो ।

हेटौंडामा शुक्रबार पत्रकार सम्मेलन गर्दै हाम्रो नेपाली पार्टीका अध्यक्ष घिमिरेले बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका हुन् । उनले बज्राचार्यलाई सत्तापक्षले ‘राजनीतिक अपहरण’ गरेको आरोप लगाए । उनले हाम्रो नेपाली पार्टी विकृत राजनीतिमा नलाग्ने पनि बताए ।

बागमती प्रदेश सभामा हाम्रो नेपाली पार्टी संसदीय दलका नेता बज्राचार्य बुधबार सरकारमा सहभागी भएका थिए । उनलाई मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले संस्कृति, पर्यटन तथा सहकारी मन्त्री नियुक्त गरेका छन् ।

अध्यक्ष घिमिरेले भने सरकारलाई दिएको समर्थन फिर्ता लिने र प्रतिपक्षमा बस्ने पार्टीको निर्णय विपरीत बज्राचार्य लागेको आरोप लगाए । उनले मन्त्रीमा नियुक्त हुनु अगाडि पार्टीसँग कुनै छलफल नगरेको र शुक्रबार बिहानसम्म पनि सम्पर्क हुन नसकेको अध्यक्ष घिमिरेले जानकारी दिए । यद्यपि, सपथ लिएपछि बज्राचार्यले पार्टीको सल्लाहमै मन्त्री नियुक्त भएको बताएका थिए ।

बज्राचार्यलाई हेटौंडा–१०, स्थित प्रदेश प्रमुख कार्यालयमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले साढे ६ बजे पद तथा गोपनीयताको सपथ गराए थिए । बिहीवार साँझ बज्राचार्यले सपथ लिँदा घिमिरे प्रदेश प्रमुख कार्यालयमै उपस्थित थिए । उनले आफू प्रदेश प्रमुख कार्यालय बाहिरै बसेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*