राष्ट्रिय सभा निर्वाचन : बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा

अखबार हब
२०८० माघ ९, मंगलवार १३:३४

मकवानपुर । राष्ट्रिय सभा निर्वाचन अन्तर्गत बागमती प्रदेशमा हुने निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । यही बिहीबार हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान अधिकृतको नियुक्ति, मतपत्रको व्यवस्थालगायतको तयारी पूरा भएको छ ।

हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी माध्यामिक विद्यालय परिसरमा हुने निर्वाचनका लागि एक मतदान स्थल र दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ । एउटा मतदान केन्द्रमा मतदान अधिकृतसहित १० जना कर्मचारी रहने गरी निर्वाचन अधिकृतको कार्यालयले व्यवस्था मिलाएको छ ।

प्रदेश निर्वाचन कार्यालय बागमती प्रदेश, हेटौंडाका निमित्त निर्वाचन अधिकारी ताराप्रसाद आचार्यले राष्ट्रिय सभा निर्वाचनमा मतदाता रहने बागमती प्रदेश सभा सदस्य र प्रदेशभित्रका स्थानीय तहका नगर प्रमुख र उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिए ।

उनले मतदान अधिकृत र निर्वाचनमा खटिने कर्मचारीलाई सोमबार अनुशिक्षण दिएको र यसअघि सुरक्षा व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर सुरक्षा व्यवस्थाको तयारी गरिएको बताए । बागमती प्रदेशबाट अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन हुँदै छ । यस प्रदेशमा चार जना राष्ट्रिय सभा सदस्यका लागि नेकपा एमाले र नेपाल मजदुर किसान पार्टीको चाररचार, राष्ट्रिय प्रजातन्त्र पार्टीको तीन, नेपाली कांग्रेसको दुई, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले एक/एक जना गरी १५ जना उम्मेदवार रहेका छन् ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा यस प्रदेशबाट मतदान गर्ने मतदाता ३४७ जना रहेका छन् । तीमध्ये ११० जना प्रदेश सभा सदस्य र ११९ स्थानीय तहका प्रतिनिधि छन् । स्थानीय तहका मतदाता २३८ हुनुपर्नेमा दोलखाको गौरीशङ्कर गाउँपालिकाको उपाध्यक्षको पद रिक्त हुँदा स्थानीय तहबाट २३७ मतदाता मात्र कायम भएको छ । निमित्त निर्वाचन अधिकारी आचार्यले मतदानका लागि मतपत्र आइसकेको, प्रदेश सभा सदस्य र नगर प्रमुख एवं उपप्रमुख तथा गाउँपालिकाका अध्यक्ष एवं उपाध्यक्षका लागि मतदान गर्न छुट्टाछुट्टै मतपत्रको व्यवस्था रहेको बताउँदै मतदानका दिन आवश्यक निर्वाचन सामग्रीहरूको व्यवस्था भइरहेको बताए ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान बिहीबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म तय गरिएको छ । मतदान सकिएपछि मतदान स्थलमा नै मतगणना गर्ने व्यवस्था मिलाइएको निमित्त निर्वाचन अधिकारी आचार्यले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*