हेटौंडा १४ मा खानेपानीको व्यवस्थापन बोर्डले गर्ने
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १४ मा वितरण हुँदै आएको खानेपानीको व्यवस्थापन हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले गर्ने भएको छ ।
शुक्रबार उत्तरपानीमा टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट सञ्चालित २ सय ८८ वटा धारा, डिप बोरिङ तथा पानी ट्याङ्की सहितको खानेपानी योजना बोर्डमा हस्तान्तरण भएसँगै वडाको खानेपानीको व्यवस्थापन बोर्डले गर्ने भएको हो ।
खानेपानी उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भएसँगै २०८० मंसिर महिनादेखि लागू हुने गरी सञ्चालनमा रहेका २ सय ८८ वटा धाराहरुका उपभोक्ताहरुले हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको मासिक १० हजार लिटर बराबरको खानेपानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् ।
यसअघि १४ नम्बर वडामा रहेका मयुरधाप खानेपानी तथा सरसफाई उपभोक्ता समिति, चुरियामाई संयुक्त खानेपानी तथा सरसफाई उपभोक्ता समिति र बनेलधाप कालोपानी खानेपानी तथा सरसफाई उपभोक्ता समिति बोर्डमा हस्तान्तरण भई सकेका छन् ।
बोर्डले पानी महसुल सङ्कलनको लागि वडा न. १४ स्थित बनेलधापमा प्रत्येक महिनाको २२ गते देखि मसान्तसम्म महशुल सङ्कलन काउन्टर सञ्चालन गर्दै आइरहेको छ ।
खानेपानी उपभोक्ता समिति हस्तान्तरण कार्यक्रममा समिति अन्तर्गत विगत लामो समय देखि कार्यरत कर्मचारीहरु रामसिं थिङ र जयबहादुर थिङलाई उमेर हदको कारण अवकाश प्राप्त भएकोले कार्यक्रमका प्रमुख अतिथि एवं उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, विशिष्ट अतिथि उपप्रमुख राजेश बानिया, वडाध्यक्ष दिपक खडकाले दोसल्ला ओढाई, प्रमाणपत्र र नगदसहित सम्मान तथा बिदाई गरिएको थियो ।
कार्यक्रममा नगर प्रमुख लामाले उपमहानगरपालिकामा खानेपानीलाई व्यवस्थित गर्न र नगरवासीलाई सुविधा उपलब्ध गराउन उपमहानगरपालिकाले १० हजार लिटर पानीको महशुल निःशुल्क गरेको बताईन ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश वानियाले निर्वाचनका बेलामा नगरवासी समक्ष गरेका प्रतिबद्धताहरु एकपछि अर्को गर्दै पूरा गरिरहेको बताए । वडा अध्यक्ष दिपक खड्काले खानेपानीको जिम्मा हेटौंडा खानेपानी व्यवस्थापन बोर्डलाई दिएपछि वडामा पानीको समस्या नभएको बताए ।
टसीलिङ खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर सिन्तानको अध्यक्षता भएको कार्यक्रममा बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्ड सदस्य इन्द्रप्रसाद नेपाल, बोर्डका कार्यकारी निर्देसक बिष्णुप्रसाद सापकोटा, भविष्य मध्यवर्ती वन उपभोक्ता समितिका अध्यक्ष तीर्थ मोक्तान, १४ नं. वडाका वडा सदस्य लगायत विभिन्न टोल विकास संस्थाका प्रतिनिधिहरुको आतिथ्यता थियो ।







