निजी मिडियालाई विज्ञापन दिन बागमतीका मुख्यमन्त्रीको निर्देशन
हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले निजी क्षेत्रका सञ्चार माध्यमलाई पनि सरकारी विज्ञापन उपलब्ध गराउन प्रदेशका प्रमुख सचिवलाई निर्देशन दिनुभएको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको नेतृत्वमा बुधबार भएको छलफलका क्रममा मुख्यमन्त्री बानियाँले यस्तो जानकारी दिनुभएको हो ।
छलफलका क्रममा मुख्यमन्त्री बानियाँले निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापनबाट वञ्चित गर्नु लोकतन्त्रको मर्मविपरीत हुने स्पष्ट पार्नुभयो । कानुनी रूपमा दर्ता भएका सबै मिडियाले सरकारी सूचना र विज्ञापन पाउनुपर्ने उहाँको जिकिर थियो ।
”सरकारी विज्ञापन निजी क्षेत्रका मिडियालाई पनि दिन पाउनुपर्छ, यसलाई रोक्न मिल्दैन । मैले टेण्डर बाहेकका अन्य सबै सरकारी सूचना र विज्ञापन निजी मिडियामार्फत प्रवाह गर्ने वातावरण बनाउन प्रमुख सचिवलाई निर्देशन दिइसकेको छु,” मुख्यमन्त्री बानियाँले भन्नुभयो ।
प्रधानमन्त्रीसँगको छलफल र अन्योलको अन्त्य
प्रधानमन्त्री कार्यालयबाट निजी मिडियालाई विज्ञापन नदिने आशयको पत्र आएका कारण केही समयदेखि विज्ञापन वितरणमा अवरोध सिर्जना भएको थियो । यसबारे स्पष्ट पार्दै मुख्यमन्त्री बानियाँले प्रधानमन्त्री बालेन्द्र शाहसँगको भेटमा पनि यसबारे कुराकानी भएको जानकारी दिनुभयो ।
छलफलका क्रममा टेण्डरसम्बन्धी सूचना मात्र निजी मिडियालाई नदिने तर अन्य सबै प्रकारका जनहितकारी र सरकारी सूचनाहरू दिन मिल्ने गरी समझदारी भएको उहाँले बताउनुभयो । सोही आधारमा प्रदेश सरकारले अब टेण्डर बाहेकका सबै सूचना निजी मिडियालाई उपलब्ध गराउनेछ ।
महासंघको माग र सरोकार
नेपाल पत्रकार महासंघको केन्द्रीय सर्कुलरअनुसार सातै प्रदेशका मुख्यमन्त्रीहरूलाई मिडियाका समस्याबारे ध्यानाकर्षण गराउने क्रममा बागमती प्रदेशमा यो छलफल भएको हो । महासंघ बागमती प्रदेशका उपाध्यक्ष हरि हुमागाईंले संघीय सरकारको शैली पछ्याउँदै प्रदेशले पनि विज्ञापन रोक्नु चिन्ताजनक रहेको भन्दै तत्काल सुधारको माग गर्नुभयो छ ।
छलफलमा सहभागी पत्रकारहरूले सरकारी विज्ञापन वितरण प्रणालीलाई समावेशी, पारदर्शी र समानुपातिक बनाउनुपर्नेमा जोड दिएका थिए । मुख्यमन्त्रीको पछिल्लो निर्देशनले आर्थिक संकटमा रहेका निजी क्षेत्रका सञ्चार माध्यमलाई केही राहत मिल्ने विश्वास लिइएको छ ।







