दुध आयातमा कडाई गर्दै मकवानपुर प्रशासन
मकवानपुर । मकवानपुरमा बाहिरी जिल्लाबाट अवैधानिक रुपमा भैइरहेको दुध तथा दुग्ध जन्य पदार्थको आयातमा कडाई गर्नेे भएको छ ।
शुक्रबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईको अध्यक्षतामा भएको सर्वपक्षीय बैठकले उक्त निणर्य गरेको हो । पछिल्लो समय जिल्ला बाहिरबाट बिना बिल बिजक, राजस्व छलि गरि, स्रोत नखुलाई अवैधानिक तवरले दुध तथा दुग्ध जन्य पदार्थ बिक्रि वितरण भैरहेको भन्दै प्रशासनले जिल्ला भित्रने मुख्य नाकाहरुमा भोलिबाट थप कडाई गर्न लागेको प्रमुख जिल्ला अधिकारी सेडाईले जानकारी दिए ।
प्रशासनले सम्बन्धित निकायको सहयोगमा अनुमति नभएका र बिना बिल दुध तथा दुग्ध जन्य पदार्थ आयात गर्ने सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पथलैया बुझाउने तयारी गरेको छ । साथै गुणस्तर चेकजाँच गरि उपभोगका लागि योग्य ठहरिएका दुध मात्र नाकाबाट भित्रन दिइने बताइएको छ ।
हेटौंडाका मुख्य बजार क्षेत्रमा लामो समय देखि रातोमाटे नाकाको प्रयोग गरि अवैध तवरले तराईका डेरीहरुको प्रयोगगरि छिमिकी देश भारतबाट समेत दुध तथा दुग्ध जन्य पदार्थ भित्रिएको भन्दै विभिन्न सरोकारवाला निकायले यसअघिनै प्रशासनको पटक–पटक ध्यानाकर्षण समेत गराएको थियो ।
सर्वपक्षीय बैठकमा जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सिताराम रिजाल, आन्तरिक राजस्व कार्यालय हेटौंडाका कर अधिकृत गुणराज भण्डारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाका प्रमुख डा.क्षितिज श्रेष्ठ, खाद्य निरिक्षक दिपक घिमिरे, पशुपन्छी तथा मत्य विकास निर्देशनालय हेटौंडाका निर्देशक डा. गौरीमान श्रेष्ठ, राप्रपा बागमती प्रदेश सचीव गुञ्जनबहादुर न्यौपाने, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल लगायत कृषक तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।








