हेटौँडामा घुमुवा प्रहरीले मच्याए उत्पात, प्रहरी कार्यालयभित्रै महिलाको मृत्यु

अखबार हब
२०८० आश्विन १५, सोमबार ११:०९

मकवानपुर । हेटौँडामा आइतबार मध्यरात एक घुमुवा प्रहरीले नशाको तालमा उत्पात मच्चाएको आरोप लागेको छ ।

काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरबाट डिस्चार्ज गरिएको बिरामी बोकेको ना २ च ८४३२ नम्बरको एम्बुलेन्स रोकेर घुमुवा प्रहरी सहायक हबल्दार डिल्लीराम शिवाकोटीले सडकमै ‘बबाल’ गरेपछि महिलाको मृत्यु भएको हो । हेटौँडा उपमहानगरपालिका–४, स्थित रानी दरबार अगाडि भएको घटना आइतबार राती करिब १२ बजेको हो ।

मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–१ घर भएकी मुटु रोगको बिरामी ५६ वर्षीया चिरमाया लोलाई उनको परिवारले घरतर्फ लैजाँदै गरेका थिए । एम्बुलेन्ससँगै काठमाडौंबाटै आएको एउटा टाटासुमोमा रहेका परिवारलाई लिन बकैयाबाट अर्को टाटासुमो आएको थियो । रानी दरबार अगाडि मेनरोडमै काठमाडौंबाट आएको टाटासुमो खाली गरेर बकैयाबाट आएको टाटासुमोमा बिरामीको परिवार चढ्नै लाग्दा सहायक प्रहरी हबल्दार शिवाकोटी आए ।

बिरामी परिवारकाअनुसार मादकपदार्थ सेवन गरेका शिवाकोटीले सुरुमै एम्बुलेन्सको चाबी थुतेर गाडीमा लाती बर्साउनुका साथै चालकमाथि हातपात गरे । शिवाकोटी त्यतिमै रोकिएनन् । दुई वटा टाटासुमोमा पनि डाङ्डुङ्ग पारेको बिरामी महिलाको छोरा लालबहादुर वाइवाले जानकारी दिए । ‘हामी टाटासुमो परिवर्तन गर्दै थियौं । त्यतिकै घुमुवा आएर एम्बुलेन्सको चाबी थुते र ढाक्कढुक्क पार्न थाले । ५ मिनेट जति त हामी बोल्नै नसक्ने अवस्थामा भयौं ।’, वाइवाले भने, ‘तपाई को हो भनेर सोध्दा म हेटौँडाको डन हो । बोलाऔं, गोली ठोक्दियौं भन्यो ।’,

शिवाकोटीले प्रहरी भएको कुनै जानकारी नदिएको र विवाद हुँदा मात्रै उनको साथबाट पेस्तोल र हत्कडी सडकमा झरेको वाइवाले बताए । ‘पेस्तोल निकाल्न खोज्दा मैले धकेलेको हुँ । पेस्तोल समात्न नसक्ने गरी त्यो मान्छे झ्याप थियो ।’, विवाद हुँदै गर्दा जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलमा पुगेको र बिरामी परिवारका ५ जनालाई ल्याएर हिरासतमा राखिएको थियो । प्रहरीले एम्बुलेन्स नै प्रहरी कार्यालयमा ल्याएर राख्दा बिरामी महिलाको मृत्यु भएको छ ।

अक्सिजनको सहारामा घर लैजाँदै गरेको अवस्थामा उनको छोरा, ज्वाईहरु गरी ५ जना प्रहरी हिरासतमै रहँदा महिलाको मृत्यु भएको हो । करिब २ घण्टा एम्बुलेन्स प्रहरी कार्यालयमै राखिएको थियो । अक्सिजनको मात्रा ४० प्रतिशत मात्रै रहेको र अर्को अक्सिजन परिवर्तन गर्न नपाइएको उनका छोरा वाइवाले बताए । ‘हामीलाई स्वास थोरै रहेसम्म पनि आश हुन्थ्यो त । हस्पिटल लैजानु भन्दा पनि एम्बुलेन्स कार्यालयमै राख्यो ।’,

मृतक परिवारसँग विवाद हुँदा घुमुवा प्रहरी शिवाकोटी घाइते भएका छन् । उनको उपचार चितवनस्थित भरतपुर अस्पतालमा भइरहेको प्रहरीले जानकारी दिएको छ । घटना अनुसन्धान भइरहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घुमुवा प्रहरीले मच्याएको उत्पातमा कति सत्यता छ ? भन्ने प्रश्नमा प्रहरी कार्यालयभित्रै भेटिएका भण्डारीले आफू कुनै प्रतिक्रिया दिन नचाहेको  बताए ।

आजै सोमबार गृहमन्त्री नारायणकाजी श्रेष्ठ हेटौँडामा छन् । उनको सुरक्षा व्यवस्थापनमा खटिएका कारण व्यस्त भएकाले यस घटना बारे जानकारी दिन नभ्याउने भण्डारीको भनाई थियो । ‘अहिले म केही बोल्दिन । एसपी साहेबसँग पनि सल्लाह गरेर भन्छु । गृहमन्त्री ज्यु आउनु भएको छ । उहाँको सुरक्षा व्यवस्था मिलाउन बिहानदेखि व्यस्त छु । पछि कुरा गरौंला ।’, भण्डारीले भने । घटनामा संलग्न घुमुवा प्रहरी डिल्लीराम शिवाकोटी भएको उनले पुष्टि गरे । डिएसपी भण्डारीले प्रहरीको गल्ती देखिए विभागीय कारबाही गरिने परिवारलाई बताएका छन् ।

गृहमन्त्री श्रेष्ठ हेटौँडा आएकै दिन नारा, जुलुस निस्किने त्रासले प्रहरीले मृतक महिलाको छोरा र ज्वाईसहित ५ जनालाई ४–५ घण्टा हिरासतमा राखेर सोमबार बिहानै छोडेको छ । घटनामा प्रहरीकै गल्ती देखेपछि एउटा सहमति पत्र गराएर उनीहरुलाई हिरासत मुक्त गरिदिएको हो । सहमति पत्रमा घाइते सहायक हबल्दार शिवाकोटीको उपचार प्रहरी पक्षबाटै गराइने उल्लेख भएको छोरा वाइवाले जानकारी दिए । शिवाकोटीको उपचार भएपछि दुवै पक्षबीच बसेर मिलापत्र गरिने प्रहरीले जनाएको छ । तर, प्रहरीले जुनसुकै बेला घटनालाई तोडमोड गेर फसाउन सक्ने त्रासमा मृतक परिवार रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*