डाक्टर कुटपिट प्रकरण : हेटौंडा अस्पतालको आकस्मिक बाहेकका सेवा बन्द, डाक्टरहरुको सामुहिक राजिनामा

अखबार हब
२०८० भाद्र २९, शुक्रबार १२:५४

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको सन्चो अस्पतालमा कार्यरत दुइ जना डाक्टरहरुलाई कुटपिट गरेपछी हेटौंडा अस्पतालसहित मकवानपुरका निजी र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सबै सेवा ठप्प भएका छन् ।

हेटौंडा अस्पतालका सबै डाक्टरहरुले सामुहिक राजिनामा समेत दिएका छन् । डाक्टरलाई कुटपिट गर्ने सबैलाई पक्राउ नगरेसम्म आकस्मिक बाहेकका सबै सेवा ठप्प पारिने हेटौंडा अस्पतालका डाक्टर हरि बहादुर खड्काले बताए ।

हेटौंडा अस्पतालमा मात्र हरेक दिन १५ सय जना भन्दा धेरै बिरामीले ओपीडीबाट सेवा लिदै आएका छन् । अरु यहाँका निजी अस्पतालहरुबाट पनि त्यतीकै सेवा लिदै आएका छन् । आजबाट ओपीडी सेवा बन्द भएपछी बिरामीहरु मर्कामा परेका छन् । हेटौंडा अस्पतालमा कार्यरत ७८ जना डाक्टरहरुले सामुहिक रुपमा राजिनामा दिएको डाक्टर खड्काले बताए । उनले भने–‘पीडित परिवारका व्यक्तिहरुलाई मात्र पक्राउ गरेर भएन त्यस घटनामा संलग्न अरुलाई पक्राउ नगरे सम्म हाम्रो आन्दोलन जारी रहन्छ ।’

डाक्टरमाथी कुटपिट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्यस्थलमा डाक्टरलाई कुटपिटबाट शारिरिक रुपमा चोटपटक पुर्याउनेलाई ३ वर्ष सम्म कैद वा तीन लाख रुपैयाँ सम्म जरिवाना वा दुबै सजाय हुने कानूनी व्यवस्था रहेको छ । कुटपिटमा संलग्नलाई पूपक्षमा राखेर अनुसंधान गर्नुपर्ने कानूनी व्यवस्था पनि रहेको छ ।

बिरामीको उपचार गरिरहेका बेला हाई डिपेन्डेन्सी युनिट (एचडीयू) मै चिकित्सकमाथि भएको आक्रमणले असुरक्षा बढेको भन्दै मकवानपुरका स्वास्थ्यकर्मी आन्दोलित बनेका छन् । बुधबार बिहान हेटौंडा–१ भिन्तुनापथस्थित सञ्चो अस्पतालमा चिकित्सकमाथि सांघातिक आक्रमण भएको थियो । आक्रमणमा परी एनेस्थेसिया डा. प्रशान्त बिडारी र डा. विकास थापा घाइते भएका छन् ।

बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने थापाको गाला र अनुहार सुन्निएको छ । डेंगीका कारण एक महिनाअघि मृत्यु भएका हेटौंडा–१२ का राजेश प्रधानका आफन्तले अस्पतालभित्र प्रवेश गरी बुधबार डाक्टरमाथि कुटपिट गरेका हुन् । साउन २२ गते सञ्चो अस्पतालमा भर्ना गरिएका प्रधानको अवस्था गम्भीर भएपछि थप उपचारका लागि भोलिपल्ट चितवन रेफर गरिएको थियो । प्रधानलाई दोस्रो पटक डेंगी संक्रमण पुष्टि भएको थियो भने उनी मधुमेह र उच्च रक्तचापका पनि बिरामी थिए । उनको साउन २५ गते चितवन मेडिकल कलेजमा उपचार क्रममा निधन भएको थियो ।

कुटपिटमा संलग्नलाई कारबाही माग गर्दै जिल्लाका स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाले सामूहिक रूपमा प्रहरीमा जाहेरी दिएका छन् । स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षा प्रत्याभूति नभएका कारण पीडितबाट मात्रै उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिक रूपमा दर्ता गरेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । मकवानपुरका सुरक्षा निकायका प्रमखकै अगाडी ज्यानमानै धम्कीपछि डाक्टर र स्वास्थ्यकर्मीहरुको सामूहिक उजुरी दर्ता गराएका छन् । अस्पतालमा कार्यरत डाक्टरलाई कुटपिट गर्नेहरुले निरन्तर रुपमा धम्की दिएका कारण एक जना डाक्टरले परिवारनै लिएर काठमाडौं गइसकेका छन् ।

ड्युटीको समयमा कुटपिट पनि गर्ने र फेरी प्रहरीमा उजुरी गरेमा ज्यान मार्ने र परिवारनै सिध्याइदिने धम्की दिएकाले पिटाइखाने डाक्टर विस्थापित भइसकेको हेटौंडा अस्पतालका एक जना डाक्टरले बताए । कुटपिट गर्ने मात्र होइन । प्रहरी र प्रशासनले उल्टो मिलापत्र गराउनका लागि दवाब दिइरहेको ती डाक्टरले बताए ।

स्थानीय प्रशासन र प्रहरीबाट सुरक्षाको प्रत्याभूति नभएका कारण सांघातिक आक्रमणमा परेका चिकित्सकले प्रहरीमा उजुरी दर्ता गर्ने अवस्था नभएपछि सामूहिकरुपमा उजुरी दर्ता भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published.


*