बारा बस दुर्घटना : भारतीय नागरिकको शव भारत पठाइयो
मकवानपुर । बुधबार राती चुरीयामाई मन्दिर नजिकै भएको बस दुर्घटनामा परी मृत्यु भएका भारतीय नागरिकको शव भारत पठाइएको छ ।
भारतीय दुतावास मार्फत भारतीय नागरिकको शव भारत पठाइएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा परी मृत्यु भएका महोत्तरीका एकजनाको शव भने हेटौंडा अस्पतालमै छ ।
बुधबार राती करिब साढे २ बजेको समयमा काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको प्रदेश ०३–००१ ख ७९९४ नम्बरको बस दुर्घटना हुँदा महोत्तरीको लोहार बस्ने ४१ बर्षीय विजय लाल पण्डितसहित भारतीय नागरिक भारत राजस्थानका ६७ वर्षीय बहादुर सिंह, ६० वर्षीया सत्यवती, ७० वर्षीय राजेन्द्र चतुरबेदी, ६५ वर्षीया श्रीकान्त चतुरबेदी, ६७ वर्षीया बैजन्ती देवी, ६५ वर्षीया मिरा देवीको मृत्यु भएको थियो ।
दुर्घटनामा परी १७ जना घाइते भएका थिए । घाइते मध्य ४ जनाको चितवनमा उपचार भइरहेको छ, भने ११ जनाको हेटौंडामा उपचार भइरहेको छ । २ जना भने डिस्चार्ज भइसकेका छन् ।







