विपद् व्यवस्थापनमा एमाले मकवानपुर
मकवानपुर। नेकपा (एमाले) मकवानपुरको जिल्ला विपद् व्यवस्थापन स्वंमसेवक टोलीले जिल्लामा भइरहेको अविरल वर्षा र यसबाट उत्पन्न हुन सक्ने प्रकोप जोखिम न्यूनीकरण गर्नको लागि आवश्यक पहल थालेका छन् ।स्वंमसेवकहरुले आइतबार भीमफेदी गाउँपालिकाको भैँसे सडक खण्डमा आएको पहिरो र भूस्खलनबाट भासिएको सडकबाट हुन सक्ने दुर्घटना र अन्य क्षती न्यूनीकरणको कार्य गरेका छन् ।
भीमफेदीकै बाघझोरामा भारी वर्षाको कारण खहरे खोलामा पानीको सतह बढ्दा दुईतर्फी सवारी साधन सञ्चालनमा आवश्यक सहजीकरण र बाटो सरसफाइको कार्य गरेको विपद् व्यवस्थापन तथा स्वंमसेवा विभागका प्रमुख शिवहरि दाहालले जानकारी दिए ।
निरन्तर वर्षातको कारण यहाँको तटीय क्षेत्र तथा डुबान भइरहने होचा भू(भागमा उच्च जोखिममा रहेको जल तथा मौसम विभागले पनि सूचना जारी गरिसकेको अवस्थामा एमालेको स्वंमसेवक टिमले जिल्लाको विभिन्न जोखिम हुने स्थानहरुको अनुगमन गरी जोखिम न्यूनीकरण र आवश्यक सहजीकरणको कार्य गरिरहेको प्रमुख दाहालले बताए ।
जिल्लामा हुनसक्ने जोखिम न्यूनिकरणको लागि सबैले आआफ्नो स्थानबाट अग्रसरता देखाउन उनले अनुरोध गरेका छन् ।







