तत्काल प्रदेश सभाको बैठक बोलाउन सरकारलाई एमालेको माग
मकवानपुर । बागमती प्रदेश सभाको प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले तत्काल प्रदेश सभा बैठक बोलाउन माग गरेको छ ।
आज दलको कार्यालय हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरि असार २१ गते बाट चल्न नसकेको प्रदेश सभाको बठैक तत्काल बोलाउन सरकारको ध्यानाकर्षण गराएको हो । डेढ महिना बितिसक्दा समेत बैठक बोलाउन नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल एमालेले सरकारको निन्दा गरेको छ ।
नागरिकहरु रोग र भोकसँग मात्र नभै विपद्सँग पनि लडिरहेको र बाढीपहिरोले जताततै क्षति पुरÞ्याइरहेको अवस्थामा जनताको आवाज बोल्ने सभानै सुचारु नगरेर सरकार मन्त्रालय फुटाउँदै मन्त्रीहरु भप्ने र राज्यलाई थप व्ययभार बढाउने तर्फ लागेको प्रतिपक्ष दलका नेता जगन्नाथ थपलियाले आरोप लगाएका छन् ।
‘चामल, दाल जस्ता दैनिक उपभोग्यवस्तुहरुको महङ्गी बढेर नागरिकहरु तड्पिरहेका छन् । तर, सरकार कहाँ छ ? कसैलाई पत्तो छैन । अधिकांश मन्त्रीहरु राजधानी हेटौँडा बस्दैनन् । जनताका प्रतिनिधि प्रदेश सभा सदस्यहरु जनताका आवाज बोल्न चाहन्छन् । तर, सरकार प्रदेश सभा बैठकका लागि व्यवस्था मिलाउन सकिरहेको छैन ।’–उनले भने ।
प्रदेश सभाको निर्वाचन सम्पन्न भई प्रदेश सभा सञ्चालन भएको ७ महिना भइसक्दा पनि कुनैपनि संसदीय समितिको पहिलो बैठक समेत बस्न नसकेको भन्दै तत्काल समितिलाई सक्रीय बनाएर सरकारका काम कारबाहीहरुको निगरानी बढाउनुपर्नेनै एमालले भनेको छ ।







