लम्पी स्किन रोग विरुद्ध प्रदेशभर खोप अभियान
मकवानपुर । गाई तथा भैंसीमा महामारीको रुपमा फैलिएको लम्पीस्किन रोग नियन्त्रण गर्न बागमती प्रदेश सरकारले सप्ताहाव्यापी खोप अभियान सञ्चालन गर्ने भएको छ ।
प्रदेशभर साउन २५ गते विहीबारदेखि ३१ गते बुधबारसम्म पछिल्लो समय गाई तथा भैंसीमा देखिएको विषाणुजन्य संक्रमणलाई नियन्त्रण गर्न प्रदेशभर खोप अभियान सञ्चालन गर्न लागेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको छ ।
एकहप्तामा प्रदेशका १३ जिल्लाको विभिन्न स्थानीय तहसँगको समन्वयमा विज्ञ केन्द्रमार्फत् खोप लगाइने मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डेले जानकारी दिए । उनका अनुसार यस अभियानअन्तर्गत् ५० हजार खोप लगाइनेछ ।
यस अभियान प्रदेशको ११९ वटा स्थानीय तहमध्ये ९१ वटामा सञ्चालन गरिनेछ । बागमती प्रदेशभर करिब २ लाख ५ हजार पशु यस रोगबाट प्रभावित भएका छन्, भने १ लाख दश हजार ५ सय पशु यस रोगबाट सक्रिय संक्रमित भएका छन् । हालसम्म करिब ६ हजार २ सय ९१ पशुको यस रोगबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री डा. राजेन्द्रमान श्रेष्ठले लम्पीस्किनले महामारीको रुप लिइरहेको अवस्थामा अझै धेरै पशुमा संक्रमण हुने सम्भावना बढेको कारण सप्ताहव्यापी खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
उनले यस क्रममा रोगबाट प्रभावित गाई तथा भैंसीलाई खोप नदिइने बताए । ‘यस रोगको संक्रमण फैलिएको स्थानमा खोप अभियान सञ्चालन गर्दा धेरै पशुको मृत्यु हुनसक्छ । त्यसकारण नफैलिएको स्थानमा अभियान गर्न लागिएको हो ।’, उनले भने । मन्त्रालयले हालसम्म प्रदेशभर १ लाख ३३ हजार गाईबस्तुलाई खोप लगाईसकेको छ ।







