मन्त्रालय फुटाएर शपथ लिएको ७७ दिनपछि चित्रकारलाई जिम्मेवारी
मकवानपुर । बागमती प्रदेशका विनाविभागीय मन्त्री रामकृष्ण चित्रकारले मन्त्री नियुक्त भएको ७७ दिनपछि जिम्मेवारी प्राप्त गरेका छन् । जेठ ७ गते विनाविभागीय मन्त्रीको रुपमा शपथग्रहण गरेका चित्रकारले आइतबारबाट उद्योग तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी प्राप्त गरेका हुन् ।
लामो समयदेखि जिम्मेवारी विहीन अवस्थामा रहँदै आएका उनलाई प्रदेश सरकारले मन्त्रालय विभाजन गरी जिम्मेवारी सुम्पेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।
बागमती प्रदेशमा कायम रहेको ११ वटा मन्त्रालयमध्ये उद्योग पर्यटन तथा सहकारी मन्त्रालयलाई विभाजन गरी उक्त मन्त्रालय खडा गरिएको हो । मन्त्रालय विभाजनको विषयमा लामो समयदेखि सत्तारुढ नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच विवाद रहँदै आएको थियो ।
कांग्रेसले भौतिक पूर्वाधार मन्त्रालय विभाजन गरी चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग राख्दै आए पनि माओवादीले आफ्नो भागमा परेको मन्त्रालय विभाजन गर्न नमान्दा विवाद सिर्जना भएको हो । जसकारण पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको आलोचना हुने गरेको थियो ।
सरकार गठनको समयमा उच्चस्तरीय समिति निर्माण गरी मन्त्रालयको संख्या १० प्रतिशतमा सीमित राख्ने प्रतिबद्धता जनाएका मुख्यमन्त्री जम्कट्टेले मन्त्रालय विभाजनसँगै आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका छन् । चित्रकार नेपाली कांग्रेस संसदीय दलका उपनेता हुन् । वाग्मती प्रदेशमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।







