भ्रष्टाचारका काण्डमा प्रधानमन्त्री र गृहमन्त्रीको संलग्नता : कमल थापा
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री र गृहमन्त्री ठूला भ्रष्टाचारका काण्डहरुमा संलग्न रहेको बताएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाको एकता घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले देशका भ्रष्टाचार काण्डहरुमा प्रधानमन्त्री र गृहमन्त्रीकै संलग्नता रहेको आरोप लगाएका छन् । उनले भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको बताएका छन् ।
प्रधानमन्त्री र गृहमन्त्री नै भ्रष्टाचारमा संलग्न हुँदा समेत कारबाही नगरिएको बताउँदै नेताहरुले आफ्नो मुखुण्डो उघारिएला भन्ने डरले सुन बोकेर हिँडेको ट्याक्सीलाई गन्तव्यमा नपुग्दै समातिएको आरोप लगाएका छन् ।
उनले भने–‘सबैभन्दा दुर्भाग्यको कुरा यहाँ भ्रष्टाचार भयो भन्ने मात्र होइन, भ्रष्टाचार आफैँमा महारोग हो । त्यो भन्दापनि सबैभन्दा चिन्ता लाग्ने कुरा के हो भने यि सबै प्रकारका भ्रष्टाचारमा सिंगो राज्य संयन्त्र संलग्न रहेको छ । राजनीतिक दल र दलका नेताहरु संलग्न रहेका छन् । स्वयं देशको गृहमन्त्री, गृह मन्त्रालय, जसले शान्ति, सुरक्षा दिनुपर्छ । अपराध नियन्त्रण गर्नुपर्छ । अपराधीलाई कारबाही गर्नुपर्छ । त्यही गृह मन्त्रालय र गृह मन्त्रालय सञ्चालन गर्ने मन्त्री, प्रधानमन्त्री यि भ्रष्टाचारका काण्डहरुमा संलग्न भएका छन् । तर कारबाही हुँदैन । केही कारबाहीका नाटकहरु गरिन्छन् । तर मुल जरोसम्म पुग्ने प्रयास हुँदैन । यही सुन तस्करीलाई हेर्नुस्, एयरपोर्टबाट विदेशमा रगत, पसिना बगाएर घर फर्कंदाखेरी एउटा मोवाइल, एक तोला सुन ल्याउँदाखेरी पक्राउ गर्नसक्ने राज्य संयन्त्रले एक क्विन्टल सुन तस्करी हुँदाखेरी देख्दैनँ । कतिसम्म अपराधि छन् राज्य संयन्त्र भने त्यो मुल जरोसम्म पुग्ला भन्ने डरले यि नेताहरुको मुखुण्डो उघारिएला भन्ने डरले तस्करी गरिएको सुन बोकेर हिडिएको ट्याक्सीलाई सम्बन्धित ठाउँमा पुग्नुभन्दा अगाडी नै बाटोमा समात्छ । किनभने सम्बन्धित ठाउँमा पुग्यो भने त मुखुण्डो उघारिने भो । अपराधी को रहेछ भन्ने थाहा हुने भो । भरियाहरुलाई समातेर हामीले ठूलो–ठूलो कारबाही गरेका छौँ, नयाँ–नयाँ फाइलहरु खुल्छन् भन्ने दम्भ गरिराखेका छन् नेताहरु । तर म यहाँहरुलाई निवेदन गर्न चाहन्छु, के यिनीहरुबाट कारबाही हुन्छ भन्ने विश्वास गर्न सकिन्न । किनभने यिनीहरु आफैँ संलग्न छन् ।’
अध्यक्ष थापाले पार्टीभित्र देखिएको विसंगतिहरुलाई पार्टीभित्रै समाधान खोज्ने प्रयास असफल भएपछि आफूले राप्रपा छोडेको बताए ।







