निर्माण व्यवासयीको आन्दोलनमा माधव सापकोटाको साथ (भिडियो)
मकवानपुर । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले निर्माण व्यवसायीहरु गरेको आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको बताएका छन् ।
मंगलवार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । ठेक्का लागिसकेपछि रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएक छन् । उनले केही दिनपछि अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी आन्दोलन हुन लागेको भन्दै आफू पनि सहभागी बन्नसक्ने बताए ।
आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति रहेको जनाए । सांसद सापकोटाले चालु रहेका प्रोजेक्टहरुकै पेमेण्ट गर्न नसक्ने हो भने नयाँ योजनाको कुरा गर्नु बेकार रहेकोसमेत बताए ।
उनले भने, ‘निर्माण व्यवसायीहरु अहिले पनि हड्तालमा हुनुहुन्छ, प्रधानमन्त्री निवास अगाडि । म त्यो आन्दोलनप्रति समर्थन गर्न चाहन्छु । मेरै निर्वाचन क्षेत्रमा पनि ५/६ वटा यस्ता परियोजनाहरु छन्, जो ठेक्का भएर चालु रहेका रनिङ बिलमा समेत कन्ट्याक्टरहरुले पेमेण्ट पाएका छैनन् । यो प्रधानमन्त्री, अर्थमन्त्रीको समेत ध्यानाकर्षणको विषय हो । विषयगत मन्त्रालय हुनुको नाताले यी विषय हल गर्नुपर्छ । केही दिनपछि त अरनिको राजमार्गसमेत ठप्प पार्नेगरी चुनौतिहरु आएका छन् । आन्दोलनकारीका जायज माग भएकाले हड्तालमा गएर सडकमा बस्नुपर्ने स्थिति छ । यो सामान्य प्रकारको समस्या होइन । यी समस्याको समाधान हुनुपर्छ । चालु रहेका प्रोजेक्टहरुकै पेमेण्ट गर्न सक्दैनौँ भने नयाँ प्रोजेक्टको हामी किन धेरै कुरा गर्ने ? यो थ कम्प्लिट हुनुपर्छ । अहिले ठेक्का लगाउँदा झनै जनताले बढी दुःख पाउने परिस्थिति भएको छ । नयाँ बजेट परिचालनको संघारमा छौँ । यसपालिको कसरी अर्थतन्त्र चल्छ मलाई थाहा छैन । किनभने एकै ठाउँमा अर्बौं रुपैयाँ र अर्को ठाउँमा १० लाख छ ।’
कुनै क्षेत्रमा अर्बौंका योजना र कुनै क्षेत्रमा १० लाखका योजनाले सन्तुलित विकास हुन नसक्ने उनको भनाई छ ।







