हेटौंडा बजारका घरधनी र व्यवसायीको शक्ति प्रदर्शन
मकवानपुर । हेटौंडा बजार क्षेत्रका घरहरु बिना मुआब्जा भत्काउन नदिन उद्योगी, व्यवसायी र घरधनीहरुले प्रदर्शन गरेका छन् ।
शनिवार हेटौंडाको रातोमाटे देखि चौकीटोल सिरान क्षेत्र र राप्तीरोड क्षेत्रका अधिकांश घरधनी, उद्योगी, व्यावसायीहरु, विभिन्न राजनीति दलका नेताहरुसहितले हेटौंडाको मुख्य बजार क्षेत्रमा नारा र जुलुस गर्दै शक्ति प्रदर्शन गरेका हुन् ।
मकवानपुर उद्योग बाणिज्यसंघ र हेटौंडा बसोबास संरक्षण समितिको आयोजनामा लालपूर्जा भएका घर, जग्गाहरुको क्षतिपुर्ती दिएर मात्र सडक विस्तार गर्नका लागि उनीहरुले माग गरेका हुन् । हेटौंडा बजारको मुख्य चोक बुद्धचोकमा जम्मा भएका उद्योगी व्यावसायीहरु र घरधनीहरुले बिना मुआब्जा घर भत्काए त्यसको प्रतिकारमा उत्रने चेतावनीसमेत दिएका छन् ।
सडक डिभिजन कार्यालय हेटौंडाले पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडाको मुख्य बजार क्षेत्रमा सडक दायाँ, बायाँ २५/२५ गज सडक विस्तार गर्ने भएपछी उक्त क्षेत्रका घरधनीले लालपूर्जा आफुहरुसँग भएकाले त्यसको मुआव्जा दिएर मात्र भत्काउनका लागि दवाव सृजना गरेका हुन् ।
हरेक वर्ष हेटौंडा उपमहानगरपालिकालाई कर तिर्दै आएको र त्यो लालपूर्जामा उल्लेख भएको जग्गा बिना क्षतिपूर्ति भत्काउन नपाउने मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण प्रसाद गुप्ता अग्रवालले बताए । मुआब्जा विवाद र व्यवसायीको व्यवस्थापनको विषयमा हेटौंडा बजार क्षेत्रका नागरिक तथा व्यवसायीहरू सडक विस्तारको विरुद्धमा सङ्घर्षमा छन् भने ३५ दिने सूचना जारी गरेको डिभिजन सडक कार्यालय हेटौंडा सडक विस्तारको लागि साउन १५ कुरेर बसेको छ ।







