राष्ट्रिय परिचयपत्रको त्रुटि सच्याउन पैसा लाग्ने
मकवानपुर । जिल्ला प्रशासन कार्यालय मकवानपुरले राष्ट्रिय परिचयपत्र लिनको लागि आह्वान गरेको छ ।
मंगलबार प्रशासकीय अधिकृत गुणराज न्यौपानेले सूचना जारी गरी प्रशासनबाट राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएकाहरुलाई परिचयपत्र लिन आउँन आह्वान गरेका हुन् । विवरण दर्ता गराएका व्यक्तिमध्ये आफ्नो मोबाइलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले परिचयपत्र कार्ड लिन आउँदा आफ्नो सक्कल नागरिकता र विवरण दर्ता गर्दा उपलब्ध गराइएको निस्सा सहित जिल्ला प्रशासन कार्यालय मकवानपुरमा स्वयम उपस्थित हुन सूचनामा भनिएको छ ।
सूचनामा परिचयपत्रको विवरण सच्याउन परेमा शुल्क लाग्ने पनि उल्लेख छ । राष्ट्रिय परिचय पत्रको विवरणमा त्रुटि हुन गएमा सच्याउनका लागि ५ सय दस्तुर बुझाउनु पर्ने जनाइएको हो ।
विवरण सच्याउन दस्तुर लाग्ने भएपछि सर्वसाधारणले सामाजिक सञ्जालमा विरोध जनाइरहेका छन् । विवरण भर्दा प्रशासनका कर्मचारीले बिगारेको हुने र जरिवाना सर्वसाधारणसँग लिनु उचित नहुने भन्दै पुष्कर तिमल्सिनाले आपत्ति जनाइका छन् । भुपाल तामाङले पनि प्रशासनले बिगारेको ‘काममा ५०० तिर्ने हामी ? भन्दै प्रश्न गरेका छन् ।
यस सम्बन्धमा मकवानपुरका सहायक प्रमुखजिल्ला अधिकारी नेत्रप्रसाद शर्माले कानुनमा विवरण सच्याउँदा शुल्क लिने स्पष्ट उल्लेख भएअनुसार सूचना जारी गरिएको बताए । परिचयपत्रको विवरण नागरिक आफैले भर्ने प्रावधान रहेता पनि प्रशासनले निःशल्क सेवा दिइरहेको उनको भनाई थियो ।








