सुन प्रकरणमा अनुसन्धान गर्न १० दिनको म्याद थप

अखबार हब
२०८० श्रावण ४, बिहीबार १९:४३

काठमाडौं । झन्डै एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका ६ जनामाथि अनुसन्धान गर्न उच्च अदालत पाटनले १० दिनको म्याद थप गरेको छ।

आज आरोपीहरूलाई अदालतमा पेस गरिएकामा अदालतले अनुसन्धानका लागि राजस्व अनुसन्धान विभागलाई १० दिनको अनुमति दिएको उच्च अदालत पाटनका उपरजिष्ट्रार मन्दिरा शाहीले जानकारी दिइन्।

अहिलेसम्म विभागले एक चिनियाँसहित सात जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ। तीमध्ये आज ६ जनाको म्याद थप भएको हो। आज पक्राउ पर्नेमा चिनियाँ नागरिक लिन जेछियाङ रहेका छन्। चीन जान लागेका बेला उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।

अन्य पक्राउ परेकामा ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजन राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगी हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ र रामकुमार भुजेल रहेका छन्।

भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले मंगलबार राति हङ्कङबाट ल्याइएको झन्डै एक सय किलो सुन बरामद गरेको थियो। घटना भने बुधबार मात्र सार्वजनिक भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published.


*