ओम वृद्धाश्रममा इन्जिनियर्स एसोसिएसनको सहयोग
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर– २ मा रहेको ओम वृद्धाश्रममा नेपाल इन्जिनियर्स एसोसिएसन बागमती प्रदेशले हस्पिटल बेड सहयोग गरेको छ ।
६१ औं इन्जिनियर दिवसको अवसरमा एसोसिएसनले मंगलबार (आज) आश्रमलाई एक थान हस्पिटल बेड र एक दिनको खाना सहयोग गरेको हो । आफ्नो सामाजिक उत्तरदायित्व अन्तरगत आश्रममा सहयोग गरेको एसोसिएसनका सभापति रोहिनी पौडेलले बताए ।
आश्रममा हाल २५ जना आश्रित रहेको जसमध्ये २० जना पुरुष र ५ जना महिला रहेको आश्रमकी स्टाफ नर्स शान्ति तिमल्सिनाले बताइन् ।
त्यसैगरि एसोसिएसनले आजै हेटौंडा–११ मा रहेको सडक बालबालिकालाई आश्रित दिइरहेको मामाघर नेपाल नामक संस्थामा आश्रितलाई एक दिनको खाना समेत सहयोग गरेको एसोसिएसनका सचिव दिनेश न्यौपानेले जानकारी दिए ।







