बागमती प्रदेशसभाको वैठक चारदिन स्थगित
मकवानपुर । बागमती प्रदेशसभाको वैठक चारदिन स्थगित भएको छ । पटकपटक स्थगित भएर बुधबार करिब आधाघण्टा मात्र सञ्चालन भएको प्रदेशसभाको वैठक असार १७ गते दिउँसो २ बजे बस्ने भएको हो ।
प्रतिपक्ष दल नेकपा एमाले र राप्रपाका अवरोधका कारण प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटमाथि छलफल प्रारम्भ हुन सकेको छैन । बुधबारको प्रदेशसभा वैठकमा राप्रपा प्रदेश संसदीय दलका नेता उद्धव थापाले सम्बोधन गरेसँगै प्रतिपक्ष दल नेकपा एमालेसहित राप्रपाका सांसदले उठेर सदनमा अवरोध सिर्जना गरेका थिए । सांसदको विरोधसँगै सभामुख भुवनकुमार पाठकले प्रदेशसभाको वैठक स्थगित गरेका थिए । प्रदेशसभामा आगामी आवको बजेटमाथि मंगलबारबाट छलफल सुरु भएपनि विपक्षीको अवरोधका कारण कार्यसूची अगाडि बढ्न सकेको छैन ।
उक्त समयमा प्रदेशसभाको बैठकमा सत्तापक्षमका ३ सांसद र केही मन्त्रीसहित ३४ जना सांसदहरूको उपस्थिति रहेको थियो । बैठकमा एमालेका र राप्रपाका करिब २६ जना सांसदहरूको उपस्थिति रहेको थियो ।







