सांसदहरुलाई बजेट बाँड्दै बागमती प्रदेश सरकार
मकवानपुर । बागमती प्रदेश सरकारले बजेटमा संसद् विकास कोषलाई समावेश गर्ने भएको छ । सदनबाट बजेट पास नहुने डरले संसद विकास कोषमा बजेट छुट्याइन लागिएको हो ।
बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले बजेट पास गर्न निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम ब्यूँताउनुपर्ने स्थिति आएको बताएका छन् ।
प्रदेशको आर्थिक सर्भेक्षण पेस गरेपश्चात सञ्चारकर्मीसँग बोल्दै मन्त्री लामाले निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम ब्युँताउन बाध्य हुनु परेको बताएका हुन् ।
कार्यक्रमका लागि सांसदहरुले दबाब दिएको अर्थ मन्त्री लामा बताउँछन् ।
प्रतिपक्षी दलका सांसद तथा सत्ता पक्षकै सांसदहरुको प्रस्ताव भएपछि सदनबाट बजेट पास गर्न यो कार्यक्रम ब्यूताउँन पर्ने अवस्था सिर्जना भयो ।
सांसदले पाएको बजेट आफूखुसी चलाएको भन्दै विरोध भएपछि बागमती सरकारले दुई वर्ष स्थगित गरेको निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रम २०८०/८१ को बजेटबाट ल्याउने तयारी गरेको हो ।
विगतमा बागमतीले प्रदेश निर्वाचन क्षेत्र पूर्वाधार साझेदार कार्यक्रममार्फत हरेक निर्वाचन क्षेत्रमा ३ करोडका दरले बजेट छुट्याउने गरेको थियो ।
यसरी ६६ निर्वाचन क्षेत्रमा समानुपातिकसहित एक सय १० सांसदले एक अर्ब ९८ करोड बजेट चलाउँदै आएकामा चालू आवमा भने कार्यक्रम स्थगित गरिएको थियो।
चालु आर्थिक वर्षमा ७० अर्ब ९३ करोड रुपैयाँको बजेट ल्याएको प्रदेश सरकारले राजस्व संकलनको दर र खर्च गर्ने क्षमता बढाउन नसक्दा बजेट घटाउन लागेको छ ।
अर्थतन्त्रले लयवद्धरुपमा अघि बढ्न सकेको छैन । कोरोना माहामारी लगाएतका प्रकोपका कारण अर्थतन्त्र खुम्चेको छ । उनले भने, ‘यसलाई मध्यनजर गरेर बागमतीको बजेट पनि खुम्चिएरै आउने छ ।’







