प्रधानमन्त्रीलाई एमालेले जवाफ – टिकट काटेर बसेका छौं, फिल्म देखाउनुस्

अखबार हब
२०८० बैशाख २४, आईतवार १७:३९

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले भ्रष्टाचारको फिल्म हेर्न आफूहरू आतुर भएकाले आफूहरू टिकट काटेर बसेको बताएका छन्।

आइतबार बजेट अधिवेशनमा बोल्दै उनले भुटानी शरणार्थी प्रकरणको बारेमा नेकपा एमालेले राष्ट्रियसभामा भदौ २२ गते नै उठाएको पनि उनले जानकारी दिए।

शनिबार एक कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको घटनाक्रम ट्रेलरमात्रै भएको फिल्म देखाउन बाँकी रहेको टिप्पणी गरेका थिए।

त्यसको जवाफमा प्रमुख सचेतक गिरीले आफूहरूले टिकट काटेर बसेकाले फिल्म हेर्न आतुर भएको बताएका हुन्।

‘अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले बाहिर भन्दै हिँडिरहनुभएको छ। हामीले यो भ्रष्टाचारका सवालमा, यो ट्रेलरमात्रै हो फिल्म त आउन बाँकी नै छ भनेर,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीज्यू, हामी फिल्म हेर्नका निम्ति आतुर छौं। हामी तपाईंले फिल्म देखाउनुहुन्छ भनेर टिकट काटेर बसेका छौं। टिकट काटेर बसेका छौं फिल्म देखाउनुस्।’

यस्तै भदौ २२ गते एमाले सांसद पार्वती रावलले राष्ट्रियसभामा भुटानी शरणार्थीको विषय उठान गरेको र त्यतिबेलामा कुरा नसुनिएको पनि उनले बताए।

‘हामी भन्न चाहन्छौं। जुनसुकै हिसाबले जुन सुकै क्षेत्रमा भएका भ्रष्टाचारहरू हुन्। अनियमितताहरू हुन्। कानुनलाई हातमा लिने कुराहरू हुन्। यी सबै विषयलाई छानविनको दायरामा ल्याउनुपर्छ, कानुनको दायरामा ल्याउनुपर्छ। र एउटा निष्पक्षता कायम गर्नुपर्छ। मुलुकमा सुशासन कायम गर्नुपर्छ भन्ने कुरामा हामी दृढताका साथ हिजो देखिनै उभिएका छौं,’ उनले भने।

यसमा तपाइको मत

Your email address will not be published.


*