थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष थिङसहित ३ जना पक्राउ

अखबार हब
२०८० बैशाख १८, सोमबार १३:२७

मकवानपुर। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर–७ का वडा अध्यक्ष शिवराज थिङसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुको घरबाट २ सय २ केजी लागू औषध गाँजासहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्ष टेकबहादुर कार्कीले जानकारी दिए ।

पक्राउ पर्नेमा वडा अध्यक्ष थिङसहित भीमलाल थिङ, इन्द्र बहादुर थिङ रहेको उनले बताए । कानुनी कार्वाहिका लागि इलाका प्रहरी कार्यालय पालुङमा राखिएको प्रहरीले जनाएको छ।

आज बिहान ८ बजेको समयमा लागू औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाडौँबाट खटिएको प्रहरी टोलि र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरिक्षक उमेश प्रसाद कोईरीको कमाण्डमा खटिगएको संयुक्त टोलीले गाँजा बरामद गरेको हो । थाहा नगरपालिका–७ आग्रा बस्ने ७६ वर्षिय भिम बहादुर, ३९ वर्षिय शिवराज र ६७ वर्षिय ईन्द्र बहादुरको घरमा लागू औषध गाँजा विक्री वितरण गर्ने उद्देश्यले लुकाई राखेको अवस्थामा प्रहरी टोलिले बरामद गरेको हो ।

भिम बहादुर र शिवराजको घरबाट ३० वटा पोकाहरुमा २७ किलो ग्राम गाँजाको धुलो र ईन्द्र बहादुरको घरबाट १० वटा बोराहरुमा १७५ किलो लागू औषध गाँजा गरी कुल जम्मा २०२ किलो लागू औषध गाँजा तथा धुलो फेला पारीएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*