काठमाडौं–तराई–मधेश द्रुतमार्ग निर्माणलाई तीव्रता दिन्छौँ : प्रधानमन्त्री दाहाल

अखबार हब
२०८० बैशाख ५, मंगलवार १७:४१

मकवानपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तराई–मधेस द्रुतमार्गको निर्माणलाई तीव्रता दिन आवश्यक सम्पूर्ण नीतिगत निर्णय तत्काल गरिने बताएका छन् । मंगलबार द्रुतमार्गको निरीक्षणपश्चात प्रधानमन्त्री दाहालले तीव्र रूपमा काम भइरहेको भन्दै सन्तोष व्यक्त गरेका हुन् ।

‘हिजो मात्रै काठमाडौंमा ब्रिफिङ भएको थियो । हामी आज निरीक्षणमा आएका छौं । प्रत्यक्ष हेर्दा काम राम्रै भएको महसुस भएको छ । टनेलभित्र गएर पनि हे¥यौँ । ठूलो टनेल बन्दै छन्,’ उनले भने । कोभिडका कारण दुई वर्ष काम ढिला भएकाले अब तीव्र गतिमा काम हुने उनको भनाइ छ । ‘अब द्रुतमार्ग द्रुतगतिमै निर्माण हुने प्रक्रियामा रहेको हामीले महसुस गरेका छौं,’ उनले भने ।

प्रधानमन्त्री दाहालले मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकले यस आयोजनासँग सम्बन्धित कतिपय निर्णयहरु गरिने जनाएका छन् । ‘द्रुतमार्गका निम्ति जरुरी पर्ने ऐलानी जग्गा सम्बन्धित र अन्य कुरामा निर्णय गरेर सरकारले सहजीकरण गर्नेछ,’ उनले भने ।

मंगलबार नेपाली सेनाको हेलिकोप्टरबाट मकवानपुरको पूर्वी क्षेत्रमा पर्ने बकैया गाउँपालिका–५, राजदमारमा स्थलगत अनुगमनसँगै स्थानीयको गुनासो र जिज्ञासा सुनेका थिए । तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनाको पहिलो प्राथमिकतामा राखिएको छ । फास्टट्रयाक बारा, मकवानपुर र ललितपुर जिल्ला भएर राजधानी जोडिन्छ । प्रधानमन्त्रीले मकवानपुरको बकैया गाउँपालिकाको लेनडाँडा र राजदमार तथा भीमफेदी गाउँपालिकाको महादेवटारमा स्थलगत अवलोकन गरेका थिए ।

प्रधानमन्त्रीसँग उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला तथा वाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कटेल, मुख्यसचिव शंकरदास वैरागी तथा सांसदहरूको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*