बागमतीमा भागबन्डाको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तार अनिश्चित
मकवानपुर । बागमती प्रदेशमा सत्तारुढ दलबीच मन्त्रालय भागबन्डाको टुंगो नलाग्दा मन्त्रिपरिषद् विस्तारको योजना अनिश्चित बनिरहेको छ । मुख्यतः नेपाली कांग्रेस र सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रबीच भागबन्डा नमिल्दा विश्वासको मत पाएको ११ दिन बितिसक्दा पनि मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मन्त्रिपरिषद् विस्तार गर्न सकिरहेका छैनन् ।
उनकै प्रस्तावमा गठित कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारको संयोजकत्वमा रहेको सात सदस्यीय कार्यदलले पनि भागबन्डा टुंग्याउन नसकेको हो । कार्यदलका करिब आधा दर्जन बैठकबाट पनि सहमति हुन नसकेपछि मुख्यमन्त्री जम्मकट्टेल मंगलबार काठमाडौं पुगेका थिए ।
काठमाडौंमा मंगलबार साँझ जम्मकट्टेलसहित कांग्रेसबाट मुख्यमन्त्रीका दाबेदारसमेत रहेका दलका नेता बहादुरसिंह लामासहितको उपस्थितिमा बसेको कार्यदल बैठक निष्कर्षविहीन बनेको थियो । कार्यदलका सदस्यहरूका अनुसार भागबन्डा टुंग्याउने निर्णायक बैठक भनिए पनि सहमति हुन नसकेको कार्यदलका एक सदस्यले जानकारी दिए । उनका अनुसार मुख्यमन्त्री जम्मकट्टेल र लामासहितको कार्यदल बैठक आज बिहान काठमाडौंमा बस्दैछ ।
बागमतीमा मन्त्रिपरिषद् विस्तार हुन नसक्नुमा दुई कारण रहेको कार्यदलका सदस्यहरू बताउँछन् । एउटा कांग्रेसले ६ वटा मन्त्रालयको दाबी नछोड्नु र माओवादीले जिम्मेवारी सम्हालिरहेको चारवटा मन्त्रालय नघटाउनु, अर्को कांग्रेसभित्रकै आन्तरिक शक्ति संघर्ष । कांग्रेसबाटै मन्त्रीका आकांक्षी धेरै देखिएपछि भागबन्डा अनिश्चित बन्दै गएको माओवादीका एक मन्त्री बताउँछन् । कांग्रेसबाट लामा र चित्रकारसहित एक महिला सांसद मन्त्री हुने लगभग टुंगिएको भन्दै बाँकी तीन वा दुई मन्त्रीमा को हुने भन्नेमा कांग्रेस भित्रै विवाद देखिएको समाचार स्रोतको दाबी छ ।
माओवादीले तेस्रो वरियताको आर्थिक मामिला तथा योजना मन्त्रालयसहित पाँचवटा मन्त्रालय लिन कांग्रेसलाई प्रस्ताव गरिसकेको छ । तर, कांग्रेसले गठबन्धनको ठूलो दल भएकाले सांसद संख्याको आधारमा ६ वटा मन्त्रालयको अडान छोडेको छैन । गठबन्धनकै नेकपा (एकीकृत समाजवादी)ले पनि तीनवटा मन्त्रालयमा दाबी गरेको छ । कांग्रेसलाई ६ वटा र एकीकृत समाजवादीलाई दुईवटा मन्त्रालय दिँदा पनि माओवादीले तीनवटा मन्त्रालयमा भाग पुर्याउनुपर्ने हुन्छ ।
बागमतीमा मन्त्रालय संख्या ११ वटा छ । भागबन्डा पुर्याउनकै लागि मुख्यमन्त्री जम्मकट्टेल मन्त्रालय संख्या बढाउनेमा पक्षमा छैनन् । कार्यदलबाट भागबन्डा नटुंगिए उनले गठबन्धनको शीर्ष तहबाटै टुंगो लगाउन पहल गर्नसक्ने जनाइएको छ । शिलापत्रबाट सभार







