अखिलको नयाँ नेतृत्व छान्न बिहीबार मतदान हुने
काठमाडौँ । अनेरास्ववियुको नयाँ नेतृत्वको छनोटका लागि बुधबार दिउँसो १२ बजेबाट निर्वाचन प्रक्रिया सुरु हुने भएको छ । निर्वाचन प्रक्रिया सुरु भएसँगै बिहीबार बिहान ८ बजेदेखि मतदान सुरु हुने बताइएको छ ।
मंगलबार उद्घाटन भएको २३ औं महाधिवेशनले १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एमालेको जनसंगठन समन्वय संयन्त्रकी सह(संयोजक रचना खड्काले बुधबार १२ बजे मतदाता नामावली प्रकाशित हुने बताइन् । ‘दिउँसो २ बजेबाट उम्मेदवारी वितरण र दर्ता तथा बिहीबार बिहान ८ बजेबाट मतदान सुरु हुन्छ‚’ खड्काले भनिन् । १५ सय ८८ जना प्रतिनिधि सहभागी रहेको महाधिवेशनले अध्यक्ष, महासचिव र कोषाध्यक्ष एक(एक जना‚ उपाध्यक्ष ४ र सचिव १० गरी पदाधिकारी चयन गरेको छ ।
१० सचिवमा ३ महिला, एक समावेशी र ६ खुला निर्वाचित हुनेछन् । अध्यक्षमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्षहरू लोकेश निरौला, मोति विक, झविन्द्र खत्री र महासचिव समिक बडालको दाबी रहेको छ ।
उपाध्यक्षमा टपेन्द्र शाही, जेनिश लामा, मर्यादा विष्ट, एलबी सिंह, डम्बर अधिकारी, रामशरण चौधरीको दाबी छ । त्यसैगरी, महासचिवमा नारायण घर्ती, नरेश रोकाया, सुदर्शन सिवाकोटी, धर्म गिरी, गोविन्द गिरी र भाष्कर खनालको दाबी रहेको छ । सचिवमा भने ५० जनाभन्दा बढीको दाबी रहेको छ । महाधिवेशनले ४९ सदस्यीय स्थायी कमिटी चयन गर्नेछ ।
मंगलबार साँझबाट प्रज्ञा प्रतिष्ठानमा बन्दसत्र पनि सुरु भएको छ । बन्दसत्रले आयोजक कमिटी भंग गर्दै एमाले स्थायी समितिका सदस्य भानुभक्त ढकाल अध्यक्ष रहेको ९ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ । जसमा खिमलाल भट्टराई, विनोद ढकाल, माधव ढुंगेल, किशोरविक्रम मल्ल, नवीना लामा, रचना खड्का, ऐन महर, सुनिता बराल रहेका छन् ।







