प्रदेशका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउदै कृषि मन्त्रालय
मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेश भित्रका १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउने भएको छ ।
यहि फागुन १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी खोप अभियान सञ्चालन गरि भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाउन लागिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका नि.निर्देशक डा.निशान्त शर्माले जानकारी दिए ।
आज मन्त्रालयमा पत्रकार सम्मेलन मार्फत भोलीबाट प्रदेशका १३ वटै जिल्लामा एकैसाथ भेडाबाख्रालाई पीपीआर रोगका विरुद्ध खोप लगाइने जानकारी दिएको हो । शर्माका अनुसार बागमती प्रदेशमा २५ लाख २० हजार ६७१ बाख्रा र ९२ हजार ५६१ भेडा गरि २६ लाख १३ हजार २३२ भेडाबाख्रा छन् । जसमध्ये यो वर्ष १२ लाख ६९ हजार भेडाबाख्रालाई पीपीआर खोप लगाउन लागिएको हो ।
खोप प्रदेशभर ४ सय २५ जना भ्याक्सिनेटर र १ हजार २ सय ४४ खोप केन्द्रबाट लगाइने र २० वटा भन्दा बढी भेडाबाख्रा पालन गर्ने किसानको हकमा भने खोरमै पुगेर खोप लगाइने शर्माले जानकारी दिए ।
‘पीपीआर भेडा बाख्रामा विषाणुबाट लाग्ने घातक संक्रामक रोग हो । यसलाई भेडा बाख्राको हैजा पनि भनिन्छ’, शर्माले भने, ‘नेपालमा पीपीआर रोगका कारण वर्सेनि धेरै संख्यामा भेडा बाख्रा मरेर कृषकहरुले ठुलो आर्थिक क्षति व्यहोर्नु परेको छ । यस्तो अवस्था आउन नदिनका लागि मन्त्रालयले खोप अभियान सञ्चालनमा ल्याएको हो ।’
अफ्रिकी देशबाट सुरु भएको यो रोग नेपालमा पनि सबैजसो जिल्लामा देखापरेको शर्माले बताए । यो रोगको खास उपचार नभएकोले यसको नियन्त्रणको लागि सामुहिक खोप अभियाननैं प्रभावकारी पद्धति भएको उनको भनाई छ ।







