अब संघीय संसदमा तीन सांसद मात्रै प्रतिपक्ष
काठमाडौँ । नेपाली कांग्रेसले समेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेपछि संघीय संसद अब करिब प्रतिपक्षविहीन भएको छ।
प्रचण्डलाई विश्वासको मत नदिनेमा राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र एकजना स्वतन्त्रबाट चुनाव जितेका सांसद मात्रै रहेका छन्।
मंगलबार दिउँसो १ बजे बस्ने संसद बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन्।
मंगलबार बिहान आफूलाई विश्वासको मत दिन प्रधानमन्त्री प्रचण्डले गरेको आग्रहलाई अस्वीकार गरिदिएको राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले बताए।
यसैगरी नेमकिपाले पनि प्रचण्डलाई विश्वासको मत नदिने प्रष्ट पारेको छ। नेमकिपाबाट प्रेम सुवाल संघीय सांसद छन्।
त्यसैगरी एमालेबाट विद्रोह गरेर जितेका स्वतन्त्र सांसद योगेन्द्र मण्डलले भने आफू तटस्थ बस्ने बताए। उनले सोमबारको बैठकमा पनि आफू तटस्थ रहेको घोषणा गरेका थिए।







