भुटनदेवीको कानुनविपरीत व्यवसायिक सटर, उपमहानगरले चलाउला डोजर ?

अखबार हब
२०७९ भाद्र १३, सोमबार ११:२२

मकवानपुर । हेटौँडामा सरकारी विद्यालयले नै कानुनविपरीत व्यवसायिक सटर निर्माण गरेर १० वर्षदेखि भाडा उठाउँदै आएको खुलेको छ । हेटौँडा–४, स्थित जिल्लाकै पुरानो भुटनेदवी माध्यमिक विद्यालयले खुला चौर मासिने गरी हेटौँडा उपमहानगरपालिकाबाट नक्सा पास नै नगरी सटर बनाएको खुलेको छ ।

भवन बनाउनुपूर्व नक्सा बनाएर उपमहानगरपालिकाबाट स्वीकृत लिएपछि मात्र भवन बनाउनुपर्ने कानुनी व्यवस्था छ । विद्यालयले आफूखुसी सटर बनाएको १० वर्ष भइसकेको छ । यतिका वर्षसम्म पनि विद्यालयले सटरको नक्सा पास नगराएको हो । सरकारी विद्यालयले व्यवसायिक सटर भाडामा लगाएर पैसा कमाउने धन्दा गर्दा नक्सा पास नै नगरी सटर बनाएको हो ।

काठमाडौंमा कानुनविपरीत बनाइएका संरचना भत्काउने कार्यले निरन्तरता पाइरहँदा हेटौँडामा पनि अवैधानिक संरचना भत्काउने तयारी भइरहेको छ । हेटौँडा उपमहानगरपालिकाले ३५ दिने सूचना जारी गरेर कानुनविपरीत बनेका संरचना भत्काउने तयारी गरिरहेको हो । उपमहानगरपालिकालाई भुटनदेवी विद्यालयको सटर भत्काउन दबाब पर्ने देखिन्छ । विद्यालयले २०६० सालदेखि नै भवन निर्माण गरी भाडामा लगाउँदै आएको छ ।

विद्यालयले पछिल्लो पटक व्यावसायिक प्रयोजनका लागि निर्माण गरी भदौबाट भाडामा लगाएको ४१ वटा सटरसमेत उपमहानगरपालिकाबाट नक्सा स्वीकृतिबिनै बनेको छ । विद्यालयको पश्चिमतर्फ पारिजातपथमा ४३ वटा सटर १० वर्ष अघि नै बनाइएको थियो । पूर्वतर्फको भैरवरोडमा ३० वटा सटर हालै निर्माण गरिएको हो । यी दुवैतर्फका सटरको नक्सा छैन् ।

कानुनविपरीत सटर बनाउने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यसमेत हुन् । विद्यालयका अध्यक्ष हेटौँडा–१० का वडा अध्यक्ष फुर्वा दोर्जे लामा हुन् । विगतमा निर्माण व्यवसायी रहेका लामा ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

विद्यालयका अध्यक्ष लामाले भाडामा लगाइएको ७३ वटै सटर भवनको नक्सा पास उपमहानगरपालिकाबाट नभएको र अब प्रक्रियामा जाने स्वीकार गरे । उनले व्यावसायिक भवनबाट आउने भाडाबापतको आम्दानीले विद्यालयको शैक्षिक गुणस्तर वृद्धिका लागि काम भइरहेको दाबी गरे । तर, विद्यालयको गुणस्तर झनझन खस्किँदै गएको छ । सटर भाडामा लगाएर पैसा कमाउने ध्यानमा मात्रै लागेको विद्यालयले गुणस्तरीय शिक्षामा कुनै ध्यान नदिएको अभिभावकहरू नै गुनासो गर्छन् ।

विद्यालयका प्रधानाध्यापक माधवप्रसाद दाहालले सुरुदेखि नै व्यावसायिक भवनको नक्सा नबनाइएको स्वीकार गर्दै नक्सा बनाउने प्रक्रियामा रहेको बताएका छन् । वडा अध्यक्ष र विद्यालयको प्रअ जस्तो जिम्मेवार पदमा बसेका लामा र दाहालले कानुन मिचेको स्वीकार गरेका छन् । सुरुमा व्यावसायिक प्रयोजनका लागि भाडामा दिन सीमित कोठा निर्माण गरिएको भन्दै त्यतिबेला नक्सा आवश्यक नठानिएको दाहालले गैरजिम्मेवार जवाफ दिए ।

पछिल्लो पटक अस्थायी टहरो मात्र बनाउने भन्दै नक्सा बनाएर स्वीकृत गर्नेतर्फ नलागिएको उनको भनाइ छ । उनले नक्सा स्वीकृतिका लागि उपमहानगरपालिकामा बुझाएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*