नयाँ भवनमा पढ्न पाउने भएपछि हर्षित बाल जीवन ज्योतिका विद्यार्थी

अखबार हब
२०७९ असार २७, सोमबार २१:१०

मकवानपुर । बर्षै देखि टिन छाएको जीर्ण कक्षा कोठामा पढ्न बाध्य रहेका बाल जीवन ज्योति माविका विद्यार्थी यतिबेला हर्षित बनेका छन् । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ मा रहेको उक्त विद्यालयमा ४ कोठे नयाँ भवन बनेसँगै अब टिनको छानामुनि पानीमा रुझ्दै पढ्नु पर्ने बाध्यता हटेको हो ।

२०१९ सालमा स्थापना भएको उक्त विद्यालयमा गत वर्षबाट निर्माण थालिएको चार कोठे भवन निमार्णको काम सकिएको छ । निमार्ण सकिए सँगै अब केही दिन भित्रै उक्त कक्षा कोठामा नियमित विद्यार्थीले अध्ययन गर्न पाउने भएका हुन् । करिब ६ सयको हाराहारीमा विद्यार्थी रहेको उक्त विद्यालयमा कक्षा १० सम्म पढाई हुन्छ ।

वर्षौ देखि भौतिक संरचनाको अभावमा कारण जीर्ण कक्षा कोठामा अध्ययन गर्दै आएका विद्यार्थी अब नयाँ कक्षा कोठामा  पढ्न पाउने भएसँगै खुशी छन् । ‘पानी पर्दा सँधै भिजेरै पढ्नु पर्ने बाध्यता थियो, हावाहुरी आउँदा छानो उढाउँछ कि भन्ने डर हुन्थ्यो, अब त्यो हट्ने भएको छ । निर्धक्कले पढ्न पाउने भयो’ विद्यार्थीले बताए ।

विद्यार्थी मात्र होइन अभिभावक पनि खुसी छन् आफ्ना बालबालिका नयाँ कक्षा कोठामा पढ्न पाउने भएकोमा ‘आफ्ना बालबालिका अब सुरक्षित भवनमा पढ्न पाउने भए पानी पर्दा हावाहुरी चल्दा सधैँ डर लाग्थ्यो अब ढुक्क छु’ एक अभिभावकले बताए ।

शिक्षा विकास तथा समन्वय इकाईको ६८ लाख आर्थिक सहयोगमा अगिल्लो वर्षको असार अन्तिम साता विद्यालय व्यवस्थापन समिति आफैले उत्त भवन निमार्णको काम गरेको हो । भवन निमार्ण कम्पनीलाई जिम्मा दिदा काम सयमै सम्पन्न नगर्ने र गरिहाले भने कमसल बनाउने प्रवित्ति भएकोले व्यवस्थापन समिति आफैले भवन निमार्णको काम गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिव प्रसाद खनालले बताए ।

आफ्नो कार्यकाल भित्रै विद्यालयलाई कक्षा १२ सम्म अध्ययन गराउने विद्यालय बनाउँन थप १२ कोठे भवन निमार्णको काम र आवश्यक जनशक्तिको व्यवस्था गर्न समेत आफू लागि रहेको उनको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*