मकवानपुरमा मानव अधिकार उल्लंघन र ज्यादतीको घटना बढ्दो
मकवानपुर । बागमती प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री कल्पना नेपालीले नागरिकको अधिकार सुनिश्चितताको लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले हेटौँडामा ०७९ असार ७ गते आयोजना गरेको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ को अर्ध वार्षिक पूर्व समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री नेपालीले संविधानले प्रदान गरेको मौलिक अधिकार प्राप्तिको लागि नागरिककले अझै लडाँई लड्नुपर्ने अवस्था रहेको भन्दै उनले प्रदेश सरकार नागरिकको अधिकार सुनिश्चित गराउने गरी अघि बढेको बताए ।
इन्सेक मकवानपुर प्रतिनिधिका अनुसार जिल्लामा सन् २०२२ को जनवरी–जुन महिनासम्मको अवधिमा जिल्लामा मानव अधिकार उल्लंघन तथा ज्यादतीका ३३ ओटा घटना भएको छ । जसमध्ये २२ जना महिला ११ जना पुरुष गरी ३३ जना पीडित भए । बाल अधिकारका घटनामा नौ जना बालिका पीडित भएकोमा आठ जना बलात्कारका घटना र एक नवजात शिशु हत्याको घटनामा पीडित भएका छन् ।
विद्यालयमा शिक्षकबाटै सात जना बालिका यौन दुरुपयोगका घटनामा पीडित भएको घटना पनि इन्सेकले अभिलेख गरेको छ । महिला अधिकारका घटनामा १० जना पीडित भएकोमा सात जना बलात्कार र तीन जना बहुबिबाहको घटनामा पीडित भएको इन्सेकमा अभिलेख भएको छ ।
पाँच वटा हत्याका घटना भएका छन् । जसमा एक जना महिला र चार जना पुरुष छन् । ९ वटा हत्या प्रयासका घटनामा दुइजना महिला र सात जना पुरुष पीडित भएको इन्सेकमा अभिलेख भएको छ । ६ महिनाको अवधिमा परिवारजनबाट तीनजना बालिकासहित चारवटा बलात्कार, एक नवजात शिशुसहित पाँच वटा हत्याको घटना इन्सेकमा अभिलेख भएको जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीले जानकारी दिए ।







