हेटौंडाको नगर कार्यपालिकामा एमालेको बहुमत,सदस्यमा एमालेका आठै जना निर्वाचित
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका सदस्यमा आठै जना एमालेका उम्मेदवार निर्वाचित भएका छन् । पाँच दलीय गठवन्धन र एमालेबिच भएको निर्वाचमा एमालेबाट ८ जना निर्वाचित भएसँगै कार्यपालिकामा एमालेको पूर्ण बहुमत देखिएको हो ।
आज भएको निर्वाचनमा पाँच दलीय गठवन्धनलाई पराजित गर्दै नेकपा एमालेको तर्फबाट विरबहादुर विश्वकर्मा, शंकर राई, अर्जुनबहादुर राई,पातली माया गोङबा,इश्वरी बिश्वकर्मा,रुकमिणी स्याङतान,मंजु भुर्तेल र साधना श्रेष्ठ निर्वाचित भएका हुन् । विजयी सबैले समान ५० मत प्राप्त गरेका थिए ।
नगरको हरेक निर्णयमा महत्वपूर्ण भूमिका हुने कार्यपालिकामा रहने २९ सदस्यमा मेयर, उपमेर सहित १९ जना वडाध्यक्ष र आज निर्वाचित ८ जना कार्यपालिका सदस्यहरु रहने गर्दछन् ।
अब कार्यपालिकामा नेकपा एमालेबाट १७ सदस्य पुगेको छ भने नेपाली कांग्रेसबाट उपमेयर सहित ९, नेकपा एकिकृत समाजवादीबाट मेयर सहित दुई तथा नेकपा माओवादी केन्द्रबाट एकजना वडाध्यक्षमात्र सदस्य रहने छन् । समग्रमा एमालेबाट १७ तथा गठवन्धनबाट १२ सदस्य रहेको कार्यपालिका निर्माण भएको हो । नगरसभामा पनि ५१ सदस्यसहित एमाले स्पष्ट बहुमतमा रहेको छ ।







