थाहा नगरमा गठबन्धनका उम्मेदवार विजयी दलका प्रमुखले मतदातालाई दिए धन्यवाद

अखबार हब
२०७९ जेष्ठ ५, बिहीबार ००:२९

मकवापुर । स्थानीय तह सदस्य निर्वाचन २०७९ अन्तरगत बैशाख ३० गते भएको थाहा नगरपालिकाको मतगणना सम्पन्न भएको छ ।थाहा नगरमा माओवादी केन्द्रको तर्फबाट नगर प्रमुख र नेपाली काङ्ग्रेसको तर्फबाट उपप्रमुख पदमा उम्मेद्वारी सहितको गठवन्धन गरी निर्वाचनमा होमिएकोमा गठवन्धनकै उम्मेद्वार बिजयी भएका छन् ।

थाहा नगर प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेद्वार बिजयी भएपछि नेकपा माओबादी केन्द्रका अध्यक्ष बिनोद कुमार लामाले निर्वाचन सफलताका साथ सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद ब्यक्त गरेका छन् । लामाले भने “स्थानीय तहको निर्वाचन २०७९, थाहा नगरमा सौहार्द्रतापूर्ण वातावरणमा सम्पन्न भएको छ, यो निर्वाचनलाई स्वच्छ र शान्तिपूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुहुने सम्पुर्ण मतदाता, निर्वाचन आयोग, सुरक्षा निकाय, संचार माध्यम, राजनैतिक दलहरु तथा हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सम्पुर्ण जुझारु कार्यकर्ता तथा नेतृत्वप्रति हार्दिक आभार ब्यक्त गर्दछु ।”

त्यस्तै नेपाली काङ्ग्रेस थाहा नगर सभापति प्रमोद कृष्ण जोशीले सम्पूर्ण मतदाताहरुलाई धन्यवादसहित आभार ब्यक्त गरेका छन् । जोशीले भने “थाहा नगरमा गठबन्धनका उम्मेद्वारलाई बिजयी बनाउन साथ दिनुहुने सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुक तथा आदरणीय न्याय मुर्ति मतदाताहरु प्रति हार्दिक नमन ।” बुधबार राती निर्वाचन कार्यालयले घोषणा गरेको परिणाम अनुसार थाहा नगरपालिकाको प्रमुख (मेयर) पदमा माओबादी केन्द्रका उम्मेद्वार बिष्णु बहादुर बिष्ट ‘आदर्श’ बिजयी भएका छन् ।

कुल २३ हजार ५६ मत खसेकोमा बिष्टले १ हजार ९ सय ४८ मतको अन्तरले निर्वाचित भएका हुन् । बिष्टले ९ हजार ७ सय १९ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका अच्युतम प्रसाद ढकालले ७ हजार ७ सय ७१ मत प्राप्त गरेका थिए । तेस्तै उपप्रमुख (उपमेयर) पदमा नेपाली काङ्ग्रेसका उम्मेद्वार भरत गोपाली ८५ मत अन्तरले बिजयी भएका छन् । गोपालीले ८ हजार ६ सय ७ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कल्पना बलामीले ८ हजार ५ सय २२ मत प्राप्त गर्नुभएको थियो । साथै नगरपालिकाको १२ वडा मध्ये ६ वटा वडामा माओबादी केन्द्र बिजयी भएको छ भने एमाले ३ र काङ्ग्रेस ३ वडामा बिजयी भएका छन् । थाहा नगरमा माओबादी १, २, ३, ४, ९ र ११ नम्बर वडामा बिजयी भएका छन् भने काङ्ग्रेस ६, ७ र १२ नम्बर वडामा बिजयी भएका छन् । नेकपा एमाले ५, ८ र १० नम्बर वडामा बिजयी भएका छन् ।

थाहा नगरको वडा नं. १, २, ३, ४,९ र ११ का अध्यक्षमा माओबादी केन्द्रका क्रमश ः हेरमान गोपाली, बमबहादुर सिन्तान, हिरेन्द्रकुमार रायमाझी, नारायण तामाङ, राजकुमार बलामी र दिनेश बल निर्वाचित भएका छन् ।

त्यस्तै वडा नं. ६, ७, र १२ का अध्यक्षमा नेपाली काङ्ग्रेसका क्रमश ः राजेन्द्रभक्त श्रेष्ठ, शिवराज थिङ र टिकाराम स्याङतान निर्वाचित भएका छन् ।
साथै वडा नं. ५, ८ र १० को अध्यक्षमा एमालेका बिष्णुबहादुर गुरुङ, हेमकुमार थिङ र हिराबहादुर गमाल निर्वचित भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*