मनहरी काँग्रेसमा विचलन : असन्तुष्ट समूहले काँग्रेस (वीपी)बाट मनोनयन दर्ता
मकवानपुर । नेपाली काँग्रेसमा असन्तुष्ट रहेका समूहले नेपाली काँग्रेस (वीपी)बाट चुनावमा होमिने भएका छन् ।
सत्ता गठबन्धनको निणर्यअनुसार मकवानपुरको मनहरी गाउँपालिका काँग्रेसको भागमा परेता पनि नेतृत्वले आफुखुसी टिकट बाँडेको भन्दै असन्तुष्ट समूहले काँग्रेस (वीपी) को नाममा मनहरी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा मनोनयन दर्ता गराएका हुन् ।
नेपाली काँग्रेस माहाधिवेशन प्रतिनिधिसमेत रहेका शंकर न्यौपानले अध्यक्ष र काँग्रेस बागमती प्रदेश सदस्य रहेकी जानुकी लामाले उपाध्यक्षमा आज मनोनयन दर्ता गरेको हो ।
नेतृत्वले धरातल र जनमत नबुझी हचुवाको भरमा आफ्नो खल्तीबाट कमजोर व्यक्तिलाई उम्मेदवार बनाएको कारण आफूहरुले पार्टीको निर्देशन विपरीत उम्मेदवारी दिएको न्यौपानेले बताए । आफ्नो यस किसिमको कदमका कारण पार्टी कारबाही गरेको खण्डमा आफू सजाय भोग्न तयार रहेको उनले बताए ।
मनोनयन दर्तासँगै अब आफूहरु वीपी काँग्रेसको (कलश) चुनाव चिन्ह लिएर जनतामाझ जाने न्यौपानेले बताए ।
सत्ता गठबन्धनको सहमतिअनुसार मनहरीको अध्यक्षमा काँग्रेसका रञ्जन कालाखेती र उपाध्यक्षमा माओवादी केन्द्रको तर्फबाट सीता पुलामी मगरले मनोनयन दर्ता गराएका छन् ।







