हेटौंडामा गठबन्धन तोडिने खतरा,एकल उम्मेदवारी दिने काँग्रेसको चेतावनी

अखबार हब
२०७९ बैशाख ७, बुधबार २०:२९

मकवानपुर । सत्तारुढ गठबन्धनमा हेटौँडा उपमहानगरको मेयर नेकपा एकीकृत समाजवादीलाई दिने सहमति भएपछि केन्द्रको निर्णयप्रति कांग्रेस हेटौँडा उपमहानगर समितिले विरोध जनाएको छ।

आफ्नो दल हेटौँडामा बलियो रहेको, नगर र जिल्लाको गठबन्धनबीच कांग्रेसले पाउनेबारे छलफल भइरहँदा वस्तुस्थितबारे जानकारी नलिई केन्द्रले निर्णय गरेको भन्दै कांग्रेस हेटौँडाले विज्ञप्तिमार्फत विरोध जनाएको हो। विज्ञप्तिमा कांग्रेस हेटौँडाले केन्द्रको निर्णय नमान्ने घोषणा गरेको छ।

बुधबार पार्टी कार्यालयमा हेटौँडा उपमहानगर समितिले पत्रकार सम्मेलन गर्दै केन्द्रीय नेतृत्वले सहमतिबारे पुनरावलोकन नगरे एकल उम्मेदवार खडा गरेर निर्वाचनमा होमिने चेतावनीसमेत दिएको छ। नगर सभापति उत्सव इटेनीले सत्तारुढ गठबन्धनले गरेको निर्णय स्वीकार्य नभएको र आफूहरूसँग केन्द्रले छलफल नै नगरेको बताए।

‘केन्द्रको निर्णय परिवर्तन नभए नगर समिति र वडा सभापतिहरूको निर्णयअनुसार सत्ता साझेदार गठबन्धनका दलहरूसँग मित्रवत् प्रतिस्पर्धाको आधारमा कांग्रेस एकल नेतृत्वमा चुनावी प्रतिस्पर्धामा सहभागी हुनेछ,’ उनले भने, ‘गठबन्धन दलहरूबीच भागबन्डाको विषयमा छलफल चलिरहँदा पार्टीको केन्द्रीय कार्यसमितिले हेटौँडाको वस्तुगत अवस्थाबारे जानकारी नलिई कार्यकर्ताको मर्म र भावनालाई बेवास्ता गर्दै सहमतिप्रति हाम्रो पूर्ण असमर्थन छ।’

यसमा तपाइको मत

Your email address will not be published.


*