एमाले इन्द्रसरोवरः उपाध्यक्षमा सहमती जुट्न नसक्दा उम्मेदार छनोटमा ढिलाई

अखबार हब
२०७८ चैत्र २७, आईतवार २०:३२

मकवानपुर । आसन्न स्थानीय तहको निर्वाचनको लागि एमाले मकवानपुरले उम्मेदवार छनोट प्रक्रियालाई तीब्रता दिएको छ ।

जिल्ला अधिकांश पालिकाहरुमा सर्वसहमतिले सिफारिस भएपनि केही पालिकाहरुमा भने सहमतिको प्रयास जारी रहेका कारण उम्मेदवार छनोट प्रक्रियामा ढिलाई भएको छ ।

उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा पालिका अध्यक्ष पदका लागि सहमति नजिक भएपनि उपाध्यक्षमा सहमति हुन नसक्दा उम्मेदवार प्रक्रिया लम्बिने भएको छ ।

शनिबार भएको एमाले गाउँ कमिटीको बैठकमा अध्यक्ष पदका लागि देवकृष्ण पुडासैनी, धनवीर स्याङ्तान र सुनिल लामाले आकांक्षा देखाएका थिए । भने, उपाध्यक्षमा उमाकुमारी लामा, रेशमकुमारी घिसिङ र हरिमाया बलले आकांक्षा व्यक्त, गरेका थिए ।

अध्यक्ष पदको उम्मेदवारका आकांक्षी धनबीर स्याङ्तानका अनुुसार पार्टीमा अनुभवी नेता भएका कारण देवकृष्ण पुडासैनीलाई अध्यक्षको उम्मेदवार बनाउन आफूहरु तयार रहेको तर, उपाध्यक्षमा भूगोल समेटेर उम्मेदवार छनोट गर्न नसक्दा सर्वसम्मत् हुन नसकेको बताए । ‘पार्टीले भूगोल समेटेर जान नसकेमा आकांक्षीको नाम सिफारिस गरी जिल्लामा पठाउने तयारी भइरहेको छ ।’ उनले भने ।

त्यस्तै, एमाले इन्द्रसरोवर गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार अध्यक्षका लागि मौखिक रुपमा सहमति भइसकेको र उपाध्यक्षमा सहमति जुट्न नसक्दा उम्मेदवार छनोट प्रक्रिया लम्बिएको हो । ‘हामी सहमतिकै आधारमा अघि बढीरहेका छौं, मंगलबार हुने बैठकले यस विषयमा सहमति गरी उम्मेदवार टुंगो लगाएर जिल्लामा सिफारिस गर्नेछौं ।’ उनले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*