राजीनामा दिएका पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत घिमिरेलाई ज्यान मार्ने धम्की
बुटवल । सोमबारमात्रै लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएका अनन्तराम घिमिरेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन्।
लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मार्ने सम्मको धम्की आएको संकेत गरेका हुन्।
‘बाँचिएछ भने भेटेर अनियमितताका थप तथ्य सार्वजनिक गरौंला, अहिलेलाई यति भने म असुरक्षित छु त्यति बुझ्नुस्,’ घिमिरेले भने। तर आफूलाई कसले ज्यान लिनेसम्मको धम्की दियो भन्नेबारे भने घिमिरेले खुलाउन चाहेनन्।
‘कुरा १ सय ५० करोडको छ आफैं बुझ्नुस् न, बाँचिएछ भने भेटेर सबैकुरा भन्नेछु,’ उनले थपे। आफूले सरकारले दिएको दबाब अनुसार काम गर्न नचाहेर राजीनामाको बाटो रोजेको उनले बताएका छन्।
‘उहाँहरूको दबाबमा गलत काम गर्नुभन्दा राजीनामा दिएको हुँ,झ उनले भने। घिमिरेले लुम्बिनी प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियामा अनियमितता र मिलेमतोको रहस्य सार्वजनिक गर्दै र ठेक्का रद्द गर्दै दलालको दलाल बन्दिनँ भनेर राजीनामा दिएका थिए।







