९ करोड १८ लाखको मतपेटिका खरिद गर्दै निर्वाचन आयोग
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले मतपेटिका ठेक्का स्वीकृत गरेको छ। ९ करोड १८ लाख १२ हजार ५ सय रुपैयाँमा मतपेटिका आपूर्तिका लागि टेकुको केएस इन्टरनेशनललाई ठेक्का दिएको हो।
आयोगले शनिबार सूचना जारी गर्दै ठेकेदार कम्पनीलाई आगामी सोमबार सम्झौताका लागि बोलाएको छ। मतपेटिका ठेक्काका लागि आयोगले इ–बिडिङ गराएको थियो। गत बिहीबारसम्म दाखिल भएका बिभिन्न कम्पनीका बोलपत्रमध्येबाट निर्वाचन आयोग ऐन २०७३ को दफा ३८ अनुसार शुक्रबार कम्पनी छनोट गरिएको सूचनामा उल्लेख छ।
आयोगका अनुसार यसपटक १० हजार ७ सय ५६ मतदान स्थल रहने छन्। २०७४ मा स्थानीय तह निर्वाचन तीन चरणमा भएको थियो। उक्त निर्वाचनका तुलनामा यसपटक १५ लाख मतदाता थपिएको अनुमान छ।







