वडा कार्यालय तोडफोड प्रकरण : कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्र
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ को वडा कार्यालयमा तोडफोड गर्नेलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख भरतमणि पाण्डेलाई ज्ञापनपत्र बझाएको छ ।
आइतबार वडा कार्यालयबाट र्यालीसहित वडावासी र टोल विकास संस्थाले प्रशासन कार्यालय पुगेर तोडफोडमा संलग्न हुनेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने मागसहित ज्ञापनपत्र बुझाइएको हो ।
गत शुक्रबार वडा कार्यालयमा केही अराजक समूहबाट गालीगलौज, वडा कार्यालयका महिला जनप्रतिनिधि तथा महिला कर्मचारीमाथि दुव्र्यवहार, टेबल तोडफोड गर्नुका साथै अध्यक्षको कुर्ची सडकमा फ्यालेर, पेट्रोल छर्की आगजनीसमेत गर्न खोजिएको भन्दै वडा कार्यालयले गैरकानुनी र अराजक गतिविधिबाट लज्जित भई अपमानीत भएको बताएको छ ।
घटनामा संलग्नलाई अविलम्ब पक्राउ गरी कानूनबमोजिम हदै सम्मको कारबाही गरी वडामा शान्ति सुरक्षा कायम गर्न, निर्वाधरूपमा जनताका सेवा कायम गराइराख्न, महिला कर्मचारीको सुरक्षा गर्न वडाले माग गरेको छ । वडाबासीको सरक्षाको लागि त्यस्ता अराजक समूहलाई तुरुन्त कारबाही गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।







