हेटौंडाको ‘इन्फेरियोर’ ब्यान्ड च्याम्पियनको टपटेनमा

अखबार हब
२०७८ चैत्र ६, आईतवार १६:०८

मकवानपुर । ब्यान्ड च्याम्पियन नेपालको प्रतियोगितामा हेटौंडालाई प्रतिनिधित्व गर्दै दी इन्फेरियोर ब्यान्ड टप १० मा पुगेको छ । करिब २ वर्ष अगाडि सुरु गरिएको ब्यान्ड च्याम्पियन बिचमा कोरोनाले गर्दा कार्यक्रमलाई निरन्तरता दिन सकिएको थिएन । तर, अब सम्भवतः चैत्रको दोस्रो हप्तादेखि एपी वान टेलिभिजनबाट प्रसारणमा आउने भनिएको छ ।

आइतबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै ब्यान्डका प्रचारप्रसार संयोजक संग्राम बल लामाले हेटौंडाको ब्यान्ड प्रतियोगिताबारे जानकारी गराए । उनले पछिल्लो समय हेटौंडा म्युजिकल हबको रुपमा स्थापित हुँदै गइरहेको बताए ।

कार्यक्रममा बोल्दै प्रचारप्रसार सहसंयोजक संजिव लामाले हेटौंडाबाट प्रतिनिधित्व गरेकाहरुको लागि ब्यान्ड च्याम्पियन एउटा प्रतियोगिता मात्र नभई भविष्यमा आउँदो युवा पुस्ताहरुको लागि एउटा सुनौलो अवसर रहेको बताए । उनले हेटौंडा बागमती प्रदेशको राजधानी भएता पनि अरु शहरको तुलनामा यहाँ ब्यान्ड म्युजिकले त्यति स्थान नपाएको उनको भनाइ छ ।

हेटौंडामा अहिले करिब १० वटा सक्रिय ब्यान्ड समूहहरु छन् । सन् २०१७ मा सुरु भएको दी इन्फेरियोर ब्यान्डमा हाल ४ जना सदस्य आबद्ध छन् । ब्यान्डमा राजन थापा भोकलिस्ट, बिजय लामा लिड गिटारिस्ट, ओर्गेन लामा बेस गितारिस्ट र अरुण लो ड्रमर रहेका छन् ।

ब्यान्डका भोकलिस्ट थापाले प्रतियोगिताको सन्दर्भमा पोखरा, काठमाडौं जस्तो ठूलो ठाउँबाट प्रतिनिधित्व गरेका ब्यान्डहरुसँग प्रतिस्पर्धा गर्न निकै कठिन रहेको आफ्नो अनुभव सुनाए । उनले भने ‘प्रतियोगिताको सुरुवातमा छनोट हुन्छ जस्तो पनि लागेको थिएन । पछि, छ्नौट भएपछि डिजिटल अडिसनबाट टप १० मा पुग्ला भनेर सोचेका पनि थिएनौं । तर, टप १० मा आइराख्दा अबभने जित्न सकिन्छ कि भन्ने एउटा मनमा विश्वास जागेको छ । हामीले सिंगो हेटौंडालाई नै प्रतिनिधित्व गरेर हिंडेको हुँदा सबैले अब आउँदो दिनमा भोट गरेर माया देखाइ दिनुहोला ।’

इ–सेवा र ग्लोबल पे एपबाट भोट गर्न सकिनेछ । प्रतियोगितामा प्रथम हुनेलाई नगद २० लाख पुरस्कार प्रदान गरिनेछ ।

यसमा तपाइको मत

Your email address will not be published.


*