पिर्के सलामीमा रमाउँदै बागमतीका कानुनमन्त्री खनाल
मकवानपुर । संघीय सरकारका मन्त्रीको सिको गर्दै प्रदेशका मन्त्रीहरुमा पनि पिर्के सलामीको मोह बढ्न थालेको छ । कुनैपनि भवन उद्घाटन गर्न जाँदा पिर्के सलामीको मोहमा बागमती प्रदेशका मन्त्रीहरु पनि लागेका हुन् ।
संघीय मन्त्रीको पिर्के सलामीलाई निरन्तरता बागमती प्रदेशका आन्तरीक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले आज एक भवन उद्घाटन कार्यक्रममा दिएका छन् ।
खनालले मकवानपुरको बकैंया गाउँपालिका वडा नम्बर १२ ठिंगनस्थित ईलाका प्रहरी कार्यालय ठिंगनको नवनिर्मित भवन उद्घाटनको क्रममा पिर्के सलामी लिएका हुन् ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोगमा ईलाका प्रहरी कार्यालय ठिंगन मकवानपुरको नवनिर्मित कार्यालय भवन र ब्यारेक उद्घाटन मन्त्री खनालले गरेका थिए ।
२ रोपनी क्षेत्रफलमा निर्माण गरिएको भवन २ करोड २३ लाख ४३ हजार ४१४ रुपौयाँ लागतमा निर्माण गरिएको हो । भवनमा ५ वटा कोठाहरू र शौचालय सुविधा सहितको २ वटा महिला तथा पुरुष हिरासत कक्षहरू रहेको छ ।







